काठमाडौं ।  यू-१९ साफ च्याम्पियनसिप फुटबलमा सोमबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-१ गोलले पराजित गरेको थियो। बंगलादेशले भने भुटानलाई २-० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो। लगातार दुईखेल गुमाएपछि भुटान च्याम्पियनसिपबाट बाहिरिएको छ।
नेपालको लक्ष्य समूह विजेता बन्दै उपाधिको होडमा अघि बढ्नु रहेको टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। ‘
 बंगलादेशसँग टिम गेम खेल्दै स्पस्ट जितको अपेक्षा गरेका छौं’, मर्हजनले भने। बंगलादेश पनि बलियो टोली भएकोले उसलाई कम आँक्न नहुने उनले बताए। खेलाडीले आफ्नो स्वाभाविक खेल खेले भने नेपाललाई उपाधि जित्न गाह्रो नहुने महर्जनले बताए।
भुटानसँगको खेलमा कप्तान विमल घर्तीमात्र चलेको जस्तो देखिएको थियो। यसैगरी भुटानलाई हराएर अगाडि बढेको बंगलादेश पनि समूह विजेता बन्ने अभियानमा छ। बंगलादेशका प्रशिक्षक फैसुल बारी टिटुले सेमिफाइनल यात्रा सुनिश्चित भएकाले नेपालसँग उत्कृष्ट खेल खेल्ने बताए।