एजेन्सी, भदौ ६ । भारत र पाकिस्तानबीच आजका लागि निर्धारित उच्चस्तरीय वार्ता सुरु हुनुभन्दा केही घण्टाअघि आपसी आरोप-प्रत्यारोपका माझ रद्द भएको छ।

गत महिना दुई देशका प्रधानमन्त्रीले अवरुद्ध वार्ता पुन: थाल्ने सहमति गरेका थिए।

पाकिस्तानले वार्ताको निम्ति भारतले पूर्वसर्त राखेको र त्यो स्वीकार्न नसकिने बताएको छ।

शनिवार अबेर पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, “हामी, दुई देशबीच राष्ट्रिय सुरक्षा सल्लाहकार तहको प्रस्तावित वार्ताले कुनै पनि उदेश्य पूर्ति गर्न नसक्ने निष्कर्षमा पुगेका छौं।”

व्यर्थ

त्यसअघि दिल्लीले द्वीपक्षीय वार्तामा अन्य कुनै विषयमा नभई आतंकवादसँग सम्बन्धित विषयहरुमा मात्र छलफल गर्न चाहेको बताएको थियो।

भारतले आतंकवादको अन्त्यपछि मात्र अन्य विषयमा कुराकानी हुनसक्ने एकपक्षीय निर्णय गर्ने अधिकार आफूसँग रहेको ठान्नु उचित होइन

पाकिस्तान

कश्मिरी पृथकतवादी नेताहरुसँग भेट्ने र वार्ताको क्षेत्र विस्तार गर्ने पाकिस्तानको योजनाले निम्त्याएको विवादपछि भारतले लडाकूहरुबारे मात्र वार्ता सीमित गर्न सहमतिका निम्ति पाकिस्तानलाई शनिबार मध्यरातसम्मको समयसीमा दिएको थियो।

यदि भारतको मागमा पाकिस्तान सहमत भएन भने के हुन्छ? भन्ने प्रश्नमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भनेकी थिइन्, “त्यसो भए वार्ता हुन्न।”

पाकिस्तानले विशुद्ध त्यही विषयमा मात्र गरिने कुराकानी व्यर्थ हुने तर्क गरेको छ।

मोदी-मन

पाकिस्तानी विदेश मन्त्रालयले वक्तव्यमा भनेको छ, “भारतले आतंकवादको अन्त्यपछि मात्र अन्य विषयमा कुराकानी हुनसक्ने एकपक्षीय निर्णय गर्ने अधिकार आफूसँग रहेको ठान्नु उचित होइन्।”

सम्वाददाताहरु भन्छन्, “वार्ता रद्द गराउन दुबै पक्षतर्फ भड्काउने काम भइरहेको देखिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पकिस्तान र भारतबीचको तनाव मत्थर नभई दक्षिण एशियामा क्षेत्रीय सहकार्य सुदृढ बनाउने आफ्नो मुद्दा साकार नहुनेमा जानकार र व्यवहारवादी छन्।”

गत माहिना मात्र उनले आउँदो वर्ष इस्लामावादमा हुने क्षेत्रिय सम्मेलनमा भाग लिन पाकिस्तानी समकक्षी नवाज शरिफले दिएको निम्तो स्वीकार गरेका थिए।