काठमाडौं। केही दिनदेखि सक्रिय भएको मौसमका कारण देशका धेरै ठाउँमा आज पनि पानी परिरहेको छ। आज दिउँसो मध्य तराईमा ठूलो पानी पर्ने सम्भावना रहेपनि अरु क्षेत्रमा पनि सिमसिम पानी परिरहन सक्ने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ।

भारतबाट न्युन चापीय रेखा नेपालतिर सरेकाले अहिले नेपालमा मनसुन सक्रिय भएको हो। आइतबारसम्म मनसुन सक्रिय रहने भएकाले अझै दुई दिन निरन्तर पानी पर्ने सम्भावना देखिएको बिभागको भनाई छ।  नेपालमा हरेक वर्ष जुन महिनाको १० तारेखमा मनसुन सुरु हुने मानिन्छ। यसवर्ष एक हप्ता ढिलो गरी मनसुन भएपनि सुरुमा निकै कमजोर देखिएको थियो।

अहिले मनसुनको मध्य समयतिर पानी पर्ने क्रम केही बढेपनि नेपालका धेरै ठाउँमा हुने औसत वर्षा भन्दा कम नै पानी परेको मौसमविद समीर श्रेष्ठ बताउँछन्। ‘अहिले मनसुन केही सक्रिय भएपनि धेरै ठाउँमा औसतभन्दा कम नै पानी परेको छ’ उनी भन्छन् ‘यो अगष्ट महिनामा पनि काठमाडौं बाहेक अरु ठाउँमा औसतभन्दा कम नै वर्षा भएको छ।’  नेपालमा सेप्टेम्बर महिनाको तेश्रो हप्तासम्म मनसुन कायम रहने अनुमान गरिन्छ। अब मनसुनको अवधी करिब एक महिना बाँकी भएपनि यसवर्ष औसतभन्दा कम नै वर्षा हुने श्रेष्ठको अनुमान छ।