जुबा,एजेन्सी । दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिएको भोलिपल्टै दक्षिण सुडानमा एकजना पत्रकारको हत्या भएको खबर छ।
राष्ट्रपति किरले ती पत्रकारलाई हत्या गर्ने धम्की दिएको मृतक पत्रकारका साथीहरूले बताएका छन्, उनीहरुले राष्ट्रपतिकै आदेशमा आफ्ना साथीको हत्या गरिएको आरोप समेत लगाएका छन्। उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारहरूले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन्।
पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए। बन्दुकधारीले उनको हत्या गरेपछि उनको साथमा रहेका पैसा तथा कुनैपनि सामान नलगेका जनाएका छन्।
राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन्।
जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन्। पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिन र धाकधम्की सहन बाध्य भएका बताइन्छ। ‘नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ,’ दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन्।