भाद्र ४,काठमाडौं।  गुन्डागर्दी र चन्दा असुलीको आरोप लाग्दै आएका गुन्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी कारबाहीमा बिहीबार
मारिएका छन् । घैंटे नुवाकोटका हुन् । कांग्रेसका नुवाकोटे नेताहरूको छत्रछायाँमा रहेर गुन्डागर्दी गरेका उनलाई प्रहरीले पटकौंपटक पक्राउ गरेर छाड्ने गरेको थियो । सुरुआतमा २०५९ सालतिर उनले दीपक मनाङे र चक्रे मिलनको समूहमा बसेर काम गरे । गुन्डागर्दी सिकेपछि अलग्गै समूह खडा गरे । कन्स्ट्रक्सन, ठेक्कापट्टा लगायतमा धम्क्याउने र रकम असुली गर्ने काम सुरु गरे ।

महाशाखा प्रमुख खनाल महाशाखामै डीएसपी हुँदा २०६० सालमा घैंटे समूहले उनीमाथि आक्रमण गरेको थियो ।निमित्त प्रमुख रहेका बेला खनाल रातो नम्बर प्लेटको गाडीमा गइरहेका बेला बागबजारमा आक्रमणमा परेका थिए । उनको गाडीमा माथिबाट ढुंगा, बियरको बोतल लगायतले हानेका थिए ।
महाशाखाका अनुसार घैंटे पहिलोपटक २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा समातिएका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । जेलबाट छुटेपछि उनी सुध्रिएनन् । झन् बढी अपराधमा लाग्दै गए ।
२०६३ असारमा फेरि समातिए । महानगरपालिका वडा नम्बर १९ को सिद्धिगणेश माविअगाडि प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । लामा ट्याक्सीमा गइरहेका थिए । घैंटेमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । त्यही भदौमा गोंगबुमा रहेको शो गर्ल रेस्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोली प्रहार गरेका थिए । २०६३ कै चैतमा सामाखुसी गल्कोपाखामा सिंह थरका एक व्यक्तिलाई खुकुरी हाने । पक्राउ पनि परे । तर धरौटीमा रिहा भए ।
२०६५ कात्तिकमा दरबारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाइते बनाएर फरार भए । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । त्यही मुद्दामा उनलाई खोज्दै गरेको प्रहरीले लाजिम्पाटको एउटा होटलमा स्विमिङ गरिरहेका बेला गोली हानेर घाइते बनाई पक्राउ गरेको थियो । काठमाडौं परिसरबाट गएको टोलीले उनलाई तिघ्रामा गोली हानेको थियो । त्यसबेला उनी पेस्तोलसहित समातिएका थिए हातहतियार मुद्दा र पुरानो ज्यान मार्ने उद्योगमा पक्राउ परेका उनी रिहा भए

घैंटे पछिल्लो समयमा आफूलाई राजनीतिक पर्दामा राख्दै गुण्डागर्दी र असुलीमा व्यस्त थिए । खासगरी चरीलाई मारिएपछि यिनले राजनीतिक आवरणमा बसेर काम गर्न थालेका थिए । चरीपछि प्रहरी इन्काउन्टरको सूचीमा अरू गुण्डा समेत रहेको खबर फैलिएसँगै उनी भागेर मलेसिया पुगे । लामो समय उता बसेर भूकम्पपछि नेपाल फर्किएका थिए । खासमा कांग्रेसका नुवाकोट सभासद जगदीश्वरनरसिंह केसीका दाहिने हात झैं थिए । उनी पटकपटक पक्राउ पर्दा छुटाउने दबाब दिने यिनै हुन्थे ।
वैशाख १२ को भूकम्पपछि पीडितलाई सहयोग गर्न कांग्रेसले बनाएको संयन्त्रमा उनी उपसंयोजक थिए । बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले उनी लगायतलाई जिम्मेवारी सुम्पिएर पठाएका थिए । कांग्रेसको खेलकुद विभागको भूकम्पपीडित सहयोग स्वयंसेवक टोलीको उपसंयोजक भएर भूकम्प प्रभावित स्थलमा गएका थिए ।