ताप्लेजुङ : बाटोमा हिँडिरहेको समयमा झरेको पहिरोले पुरेर ताप्लेजुङमा बुधबार एक बालिकाको ज्यान गएको छ ।

बिहान घरबाट नजिकैका आफन्तकहाँ जाने क्रममा पहिरो खस्दा सान्थाक्रा-७ निवासी मनिस चोङ्वाङ लिम्बूकी चार वर्षीया छोरी बिर्सिला चोङ्वाङ लिम्बूको ज्यान गएको इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए ।

बिहान करिब ९ बजेतिर बाटोमा हिँडिरहेको समयमा माथिबाट एक्कासि झरेको पहिरोले बालिकालाई पुरेको थियो ।

पहिरो जानासाथ स्थानीयले देखेपछि पहिरो खनेर बालिकाको शव निकालिएको थियो । रातितबाट निरन्तर परेको पानीका कारण पहिरो खसेको स्थानीय विष्णु केदेमले बताए ।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक फागोको नेतृत्वमा प्रहरीको टोली गएको छ । बालिकाको शव घटनास्थलमै रहेको स्थानीय केदेमले बताए । रासस