सुर्खेत: स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा सुरु भएको आन्दोलन नियन्त्रणबाहिर गएको छ।
प्रदर्शनकारीले स्थानीय स्वायत्त शासन सञ्चालन गर्ने भन्दै जिल्लाका सरकारी कार्यालय कब्जामा लिन खोजेपछि प्रहरीले आइतबार गोली चलाएको छ। प्रहरीको गोली लागेर पाँचजना प्रदर्शनकारी गम्भीर घाइते भएका छन्।
प्रदर्शनकारीले आइतबार जिल्लाका सबै सरकारी कार्यालयका साइन बोर्ड हटाएका छन्। जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा रहेका बोर्ड हटाउन खोजेपछि प्रहरीसँग झडप सुरु भएको थियो।
दर्जनौं राउन्ड अ श्रुग्यास प्रहार गर्दासमेत प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो।गोली लागेर घाइते हुनेमा पूर्णप्रसाद तिमिल्सेना, छक्कबहादुर कार्की, हरिबहादुर कुँवर, सन्तोष बुडथापा र पार्वती बोहोरा छन्।
उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।प्रदर्शनकारीले जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा आगो लगाएका छन्।
उनीहरूले सरकारी कार्यालयका बोर्ड हटाउँदै स्वायत्त कर्णाली प्रदेश लेखेका बोर्ड राख्ने तयारी गरेका थिए । सोही क्रममा प्रशासन र प्रहरीको बोर्ड हटाउन खोजेपछि प्रहरीले गोली चलाएको थियो। आइतबार दिनभर जुम्ला तनावग्रस्त बन्यो । प्रदर्शनका लागि गाउँगाउँबाट मानिस सदरमुकाम खलंगामा जम्मा भएका छन्।
दोहोरो झडपमा प्रदर्शनकारी र प्रहरी गरी दर्जनौं घाइते भएका छन्। स्थानीय प्रशासनले स्थिति नियन्त्रणबाहिर गएपछि आइतबार बेलुकी ५ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु लगाएको छ।
लामो समय आन्दोलन गर्दा पनि नेताहरूले सुनुवाइ नगरेको भन्दै प्रदर्शनकारी आइतबार उत्तेजित बनेका थिए। युवाहरूको नेतृत्वमा आन्दोलन उग्र हुने संकेत पाएपछि जिल्लाका राजनीतिक दलहरू पछाडि हटेका थिए। दलका नेताहरू आइतबारको प्रदर्शनमा सहभागी भएनन्। जसका कारण प्रदर्शन नियन्त्रणबाहिर गएको थियो।
कांग्रेस जुम्लाका पूर्वसचिव गौरीनन्द आचार्यले भने, ‘बिहानैदेखि केही युवाले दलको बैठक नै बस्न दिएनन्। उनीहरूले होहल्ला गर्दै अवरोध गरेपछि पार्टीहरू पछाडि हट्न बाध्य भयौं ।’ दलहरूले नेतृत्व लिन नसक्दा प्रदर्शन हिंसात्मक भएको उनको भनाइ छ ।

संविधान नचाहने र स्वायत्त कर्णाली प्रदेश हुन नदिनेहरूले आन्दोलनमा चलखेल गरिरहेको हुनसक्ने उनको आशंका छ । यसअघि पनि त्यहाँ आन्दोलन नियन्त्रणबाहिर गएपछि सेनालाई सडकमा निकालिएको थियो ।

जुम्लामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ थप प्रहरी पठाइएको छ। मध्यपश्चिमका क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले आइतबार हेलिकोप्टरबाट थप ५० जना प्रहरी जुम्ला पठाइएको जानकारी दिए।
उनले भने, ‘अब राजनीतिक दलका नेताहरू गम्भीर हुनुपर्‍यो, प्रशासनले मात्र कहिलेसम्म थेग्न सक्छ र ? कति ठाउँमा प्रहरी पठाउने ? एक ठाउँमा नियन्त्रण गर्दा अर्को ठाउँमा समस्या आउन थाल्यो।’
आइतबार जुम्लामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले प्रदर्शन गरेको जानकारी दिँदै उनले संविधान नचाहनेहरूले हिंसा भड्काउन खोजिरहेको बताए। आन्दोलनका नाममा घूसपैठ भइरहेको मल्लिकले बताए।
केन्द्रमा रहेका दलका नेताहरूले दिएको निर्देशनअनुसार जिल्लाका पार्टी र नेताहरू चल्न नसक्दा प्रदर्शन हिंसात्मक बन्दै गएको उनले बताए। उनले राजनीतिक रूपमा समस्याको समाधान नखोजिए कुनै पनि बेलामा अप्रिय घटना हुन सक्ने चिन्ता व्यक्त गरे।
उनले तत्काल समाधान खोज्न राजनीतिक नेतृत्वलाई आग्रहसमेत गरे।यसअघि सुर्खेतमा प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर तीनजनाको ज्यान गएको थियो।