काठमाडौँ। बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली किशोर टोलीले विजय लक्ष्यका साथ आफ्नो दोस्रो खेल बङ्गलादेशको सिल्हेटमा आज  अपराह्न ४ः४५ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अफगानिस्तानलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ अन्यथा समूहको उपविजता बन्दै नेपाल सेमिफाइनलमा आफनो यात्रा सुनिश्चित गर्नेछ ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने समान एक खेल नै खेलको अफगानिस्तानको पनि समान तीन अङ्क नै छ । अफगानिस्तानले माल्दिभ्सलाई ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा  तीन अङ्क जोडेको हो ।
सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा थियो ।