सुर्खेत, श्रावण २७ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।प्रदर्शन चर्किएसँगै प्रशासनले आज दिउँसो ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यसअघि मंगलबार दिउँसोदेखि लगाइएको कफ्र्यु राति ९ बजेहटाइएको थियो ।वीरेन्द्रनगरमा आज बिहानैदेखि प्रदर्शनकारी सडकमा उत्रिएर प्रदर्शन सुरु गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । अहिले वीरेन्द्रनगर सुनसान छ ।

सुर्खेतको वीरेन्द्रनगर नगर क्षेत्रमा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।मध्यपश्चिमलाई अखण्ड राख्नुपर्ने र छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, होटल ब्यवसायी संघ, गैरसरकारी संस्था महासंघका साथै राजनीतिक दलहरु समेत सहभागी जनाए पनि आन्दोलन हिंसात्मक बन्दै गएको छ ।

बन्दको पहिलो दिनमै भएको झडपमा प्रहरीको गोली लागेर यहाँ तीन जनाको मृत्यु भइसकेको छ ।उता, दैलेख र जाजरकोटमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् भने बजार र शैक्षिकसंस्था ठप्प बनेका छन् ।