नवलपरासी, श्रावण २७ । छुट्टै थरुहट प्रदेशको माग गर्दै थरुहट तथा थारुवान संघर्ष समितिले बुधबार तराईका २२ जिल्ला बन्दको आह्वान गरेका छन् ।

थारुहरुको वाहुल्यता रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्म बन्द आह्वान गरिएको हो ।बन्दकाकारण तराईका २२ जिल्ला प्रभावित भएका छन् । यी जिल्लामा उद्योग, कलकारखाना, शिक्षण संस्थान ठप्प भएका छन् ।

यातायातका साधन पनि सञ्चालन हुन सकेका छैनन् । बन्द आह्वानकर्ताहरुले बिहानैदेखि ठाउँगाउँमा प्रदर्शन गरिरहेका छन् ।थारुहरुको पहिचान कायम राख्न माग गर्दै आह्वान गरिएको बन्द ३२ गतेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ ।

प्रदेशको सिमांकन गर्दा दलहरुले थारुहरुलाई अवहेलना गरेकाले दलीय निर्णय मान्न नसकिने जिकीर थारु समुदायका अगुवाहरुको छ ।उनीहरुले थारुहरुको पहिचान र अधिकार सुनिश्चित हुने गरी प्रदेश सिमांकनको माग गरेका छन् ।