काठमाडौं, २६ साउन ।  सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेलगत्तै आवेदन दिनेको संख्या उत्साहजनक देखिएको छ । यातायात व्यवस्था कार्यालय बागमतीले नयाँ ट्याक्सी दर्ताका लागि निवेदन संकलन थालेको २० साउनयता नयाँ ट्याक्सीका लागि २६६४ ले आवेदन बुझाएका छन् । सरकारले विभिन्न ३ वर्गका ट्याक्सीका लागि १८५० को दर्ता खोलेको छ ।
सरकारले ०५७ पछि असार ३ गते बागमती अञ्चलमा नयाँ ट्याक्सी दर्ता खोल्ने गर्ने निर्णय गरेको हो । कार्यालयले १८५० नयाँ ट्याक्सीमध्ये स्वरोजगार मजदुरलाई ५ सय, व्यवसायीलाई ६५० र सर्वसाधारणलाई ७ सय कोटा छुट्ट्याएको छ । यीमध्ये १ हजार डिलक्स÷सुपर डिलक्स हुनेछन् ।
साउन २० देखि २५ सम्म नयाँ ट्याक्सी दर्ताका लागि स्वरोजगार कोटामा १४८५, सर्वसाधारणको कोटामा १११५ आवेदन परेका छन् । तर, ६५० व्यवसायी कोटामा ६४ जनाले मात्र आवेदन दिएको कार्यालयको साना÷ठूला विभाग प्रमुख राजेश पौडेलले जानकारी दिए । व्यवसायीहरू आन्दोलनमा रहेकाले कम आवेदन परेको हुन सक्ने जानकारी उनले दिए । “नयाँ ट्याक्सी दर्तामा सबै क्षेत्रका मानिसको चासो देखिएकाले आवेदन दिने अझै बढ्नेछन्,” उनले भने ।
सर्वसाधारणले निवेदन फर्म र १० रुपैयाँको टिकट, १ हजार रुपैयाँको बैंक भौचर, नागरिकता र त्यसको प्रतिलिपि, सवारी कम्पनीको आशयपत्रसहित कार्यालयमा आवेदन दिनुपर्छ । स्वरोजगारले सवारी चालक अनुमतिपत्रसहित माथि उल्लिखित कागजात र पुराना व्यवसायीले माथिका कागजातसहित पुरानो सवारीको ब्लुबुकसमेत पेस गर्नुपर्नेछ ।

व्यवसायी आन्दोलनले सास्ती
आफूहरूले मात्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै केही ट्याक्सी व्यवसायीले यातायात व्यवस्था कार्यालय बागमती साना÷ठूला विभागअघि आइतबारदेखि रिले अनसन गरिरहेका छन् । उनीहरूको आन्दोलनका कारण सबैभन्दा धेरै सास्ती सर्वसाधारणले खेपिरहेका छन् । बाटै ठप्प हुने गरी ट्याक्सी तेस्र्याइँदा हिँडडुलमा समस्या भइरहेको कार्यालय प्रमुख पौडेलले बताए । व्यवसायीले नयाँ ट्याक्सी दर्ता खोल्ने निर्णय फिर्ता लिनुपर्ने माग गरिरहेका छन् ।