काठमाडौँ । संविधानसभाबाट संविधान जारी गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पारित गरेको संघीय प्रदेशको सीमाङ्कनप्रति असहमति व्यक्त गर्दै विभिन्न स्थानमा भइरहेको प्रदर्शन र आन्दोलनका क्रममा सुर्खेतमा  दुई जनाको मृत्यु भएको छ।
सुर्खेतमा दिउँसोदेखि राति ९ बजेसम्म कर्फ्यु घोषणासमेत गरिएको छ।घटनाबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै गोली चलाउनुको कारण यस्तो बताएको छ।
हजारौँको संख्यामा आएका प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दै जिल्ला प्रशासन कार्यालयको गेट भत्काई कार्यालयमा रहेको टिभी, सिसिटिभीसमेत फुटाए। जिल्ला स्वास्थ्य कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, कर्मचारी मिलन केन्द्रमा समेत ढुंगामुढा प्रहार गरी क्षति पुर्‍याए।सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई सम्झाइबुझाइ गर्दा पनि अटेर गरी उल्टै सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेकोले सुरक्षाकर्मीद्वारा लाठी चार्ज गरी भिडलाई तितरबितर पारे। प्रदर्शनकारीहरु पुनः एकत्रित भई नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका कार्यालयहरुमा ढुंगामुढा गरी क्षति पुर्‍याए।नगरपालिका कार्यालयमा तोडफोड गरे। बा २ झ ९०५ को गाडी, से १ क १२ नम्बरको लोडर र तीन वटा मोटरसाइकलमा आगजनी गरियो। स्थितिलाई नियन्त्रणमा लिन खटिएको जिल्ला प्रहरी कार्यालयको बा १ झ १२५६ नम्बरको गाडीमा तोडफोड गरी आगजनी गरियो। सशस्त्र प्रहरी बलको ना १ ख १८३६ र ६६७ नम्बरको ट्रकमा क्षति पुर्‍याएको र माननीय सभासद ह्रदयराम थानीको घर र माननीय सभासद् पूर्णबहादुर खड्काको निजी निवासमा ढुंगामुढा गरी तोडफोड तथा निजी गाडीमा आगजनीसमेत गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिई सर्वसाधारणको जिउधनको सुरक्षा गर्न प्रहरीले लाठीचार्ज अश्रुग्यास तथा हवाई फायर गर्नुपरेको थियो। यसरी हवाई फायर गर्दा ८ जना प्रदर्शनकारी घाइते भई उपचारका लागि क्षेत्रीय अस्पताल लगिएकोमा थप उपचारका लागि उक्त अस्पतालले नेपालगञ्ज लैजान रिफर गरेकोमा तीन जनालाई नेपालगञ्ज पठाइएको।

सोही क्रममा अन्दाजी वर्ष ५० का प्रदर्शनकारी टीकाराम गौतमको मृत्यु हुन गएकोले स्थितिलाई नियन्त्रणमा लिई जिल्लाको शान्ति सुरक्षा कायम गर्न साउन २५ गते दिनको साढे १ बजेदेखि राति ९ बजेसम्म कर्फ्युको आदेशसमेत जारी भएको।

गृहको वक्तव्यमा एक जनाको मात्र मृत्यु भएको भनिए पनि अर्का घाइते यामबहादुर बिसीको पनि मृत्यु भएको छ।

त्यस्तै मन्त्रालयले जुम्लाको विषयमा यस्तो जानकारी विज्ञप्तिमार्फत् दिएको छ।
 

बिहान ९:४५ बजे तरुण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा ४/५ सय जनाको समूहले जुम्ला बहुमुखी क्याम्पसका गई क्याम्पसको गेट तोडफोड गर्दै त्यहाँ सञ्चालन भइरहेको बीएड दोस्रो वर्षको परीक्षाका परिक्षार्थीहरुको उत्तरपुस्तिका र प्रश्नपत्र च्यातिदिए। त्यसपछि परीक्षामा खटिएका सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरी जुलुसलाई बाहिर निकाल्ने क्रममा ४ जना प्रहरी घाइते भएका थिए।प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको बा १ झ ४३१५, बा २ झ ७१, जिल्ला प्रहरी कार्यालयको ना १ झ १३६७, जिल्ला स्वास्थ्य कार्यालयको बा २ झ १५५० नम्बरको गाडीसमेत चार वटा गाडीमा तोडफोड गरेका थिए।

के भन्छन् आन्दोलनकारी?
सरकारको निर्णय विरुद्ध नागरिकहरु स्वतस्फुर्त रुपमा सडकमा आएपछि आन्दोलन नियन्त्रण बाहिर गएको अखण्ड मध्यपश्चिम नागरिक संघर्ष समितिका अध्यक्ष तेजबिक्रम बस्नेतले जानकारी दिए।

‘सुदूरपश्चिम जस्तै मध्यपश्चिम पनि अखण्ड राख्नुपर्ने र त्यसको राजधानी सुर्खेत हुनुपर्ने यहाँका वासिन्दाको माग छ, त्यसो नभएपछि स्वतस्फुर्त रुपमा सडकमा निस्केका छन्’ उनले ‘धेरै ठूलो समूह सडकमा निस्केपछि त्यहाँ बिभिन्न उद्धेश्य भएकाहरु आउन सक्छन्, घुसपेठ पनि भएको हुनसक्छ।’

आज संघर्ष समितिले सुर्खेत बन्दको आयोजना गरेको थियो। अखण्ड मध्यपश्चिमको आन्दोलन चर्काउन संघर्ष समितिले आजै सर्वपक्षीय बैठक गरेको थियो। बैठकपछि आन्दोलनमा ऐक्यवद्धता जनाउँदै ब्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रेका थिए।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लामध्ये ८ वटालाई सुदूरपश्चिमाञ्चल विकास क्षेत्रसँग मिसाइएको छ भने बाँकी ७ लाई तराइतिर जोड्ने गरी दलहरुले सीमांकनमा सहमति गरेका थिए। आइतबार संसद बैठकमा बोल्दै सुर्खेतका सभासद् हृदयराम थानीले ६ प्रदेशमा सहमति गर्दा मध्य पश्चिम विभाजित गरिएको भन्दै विरोध जनाएका थिए।

‘क्षेत्रीय राजधानीको रुपमा विकास भएको सुर्खेतलाई किनारा लगाइयोु, यो आन्दोलनको पूर्व सूचना हो’ भन्दै संसद बैठकमै थानीले धारणा राखेका थिए।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडलेले भीड नियन्त्रणबाट बाहिर गएको तथा र नियन्त्रणका सबै प्रयास असफल भएपछि कर्फ्यु लगाइएको बताए। ‘लाठी चार्जपनि गर्यौँ, हवाई फायर पनि गर्यौँ तर नियन्त्रणमा आउन सकेन त्यसैले हामीले यस्तो बेलामा त धेरैको ज्यान जान सक्छ र मानवीय क्षति हुन सक्ने देखेर साँझ ९ बजेसम्म कर्फ्यु लगाएका छौँ’, पौडेलले भने।

प्रमुख राजनीतिक दलहरुले आन्दोलनको घोषणा गरेपनि तोडफोड गर्ने आफुहरुको उध्येश्य नभएको बताएकोले पनि स्थिति नियन्त्रण बाहिर देखिएको पौडेलले उल्लेख गरे। जुम्लामा पनि प्रदर्शन अखण्ड मध्यपश्चिमको माग गर्दै जुम्लामा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले जिल्ला विकास समितिको कार्यालयमा तोडफोड तथा सवारी साधन जलाएका छन्।

‘तोडफोड नै भएपछि हामीले लाठी चार्ज गर्यौ, अश्रु ग्यास पनि प्रहार गरेका छौँ तर गोली चलाएका छैनौँ’, प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले भने। ‘सबै राजनीतिक दलहरु छुट्टै कर्णाली प्रदेशको माग गर्दै आन्दोलमा उत्रिनु भएको छ, हामी सुरक्षा समितिको बैठक बसिराखेका छौँ, पौडेलले भने। उनले सेना परिचालन भएको सम्बन्धमा सोधिएको  प्रश्नमा ‘कानुन बमोजिम अगाडि बढ्ने’ बताए।

थरुहटको मागले कैलाली कञ्चरपुर बन्द यथावत कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङलाई समेटेर छुट्टै प्रदेशको माग राख्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ। थारु बाहुल्य रहेको कैलाली थारु कल्याणकारिणी सभाले चार दिनदेखि बन्द गरेको हो।

सभासद् गोपाल दहितले अहिलेसम्म जनताले आन्दोलन गरेको भन्दै अब केन्द्रबाट थारु सभासद्हरुले नेतृत्व दिने तयारी भइरहेको बताए। ‘थरुहट माग गर्दै महिनौँ, बन्द गर्ने सम्मको काम हुदैँछ, सबै थारु सभासद्हरु मिलेर केन्द्रीय संयोजन गरेर अगाडि बढ्न लागेका छौँ’, दहितले भने। एकीकृत नेकपा माओवादीका सभासद् र फोरम लोकतान्त्रिकले यसअघि नै थरुहटका लागि भन्दै आन्दोलन घोषणा गरेका छन्।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरी नेतृत्वमा एमाओवादी सभासद्हरु शनिबार सम्मिलित थारु सभासद् संघर्ष समिति बनाएको थियो। नवलपरासी बन्द नवलपरासी जिल्ला टुक्रयाएको विरोधमा त्यहाँ जिल्ला बन्दको आह्वान गरिएको छ।

अखण्ड नवलपरासी संघर्ष समितिले गरेका बन्दका कारण सदरमुकाममा परासी बजार प्रभावित भएको छ। बजार र पसलहरु बन्द छन् भने लामो र छोटो दूरीका सवारी साधन चलेका छैनन्। बन्दकर्ताले अखण्ड नवलपरासी नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। दाउन्ने पूर्वका वासिन्दाले विरोध नजनाएपनि दाउन्ने पश्चिमका वासिन्दा र मधेशवादी दलहरुले यसको विरोध जनाएका छन्।

रुकुममा पनि आन्दोलन अखण्ड रुकुमको माग गर्दै रुकुमका नागरिक समाजले थालेको आन्दोलन आज पनि जारी छ। आइतबारदेखि सुरु भएको आन्दोलन अखण्ड रुकुम सुनिश्चित नभएसम्म जारी रहने नागरिक प्रतिनिधिहरुले बताएका छन् । अहिले विरोध स्वरुप सांकेतिक आन्दोलन संचालन गरिएको र वेवास्ता गरिए चरणबद्ध रुपमा कडा संघर्षका कार्यक्रम संचालन गर्ने उनीहरुले बताएका छन्।

६ प्रदेश सहित सिमांकनको टुंगो लागे संगै रुकुम २ भागमा टुक्रिएपछि अखण्ड रुकुमको पक्षमा आन्दोलन सुरु भएको हो। बाग्लुङ बन्द फिर्ता जिल्ला टुक्र्याउने निर्णय विरुद्ध आन्दोलन भएको बागलुङमा भने प्रमुख दलका शीर्ष नेताहरुको प्रतिवद्धतापछि आन्दोलन फिर्ता भएको छ। प्रमुख दलका शीर्ष नेताहरुले जिल्ला टुक्र्याउने निर्णय फिर्ता लिने प्रतिवद्धता जनाएपछि सोमबार बन्द फिर्ता भएको हो।

हिन्दुवादीको प्रदशर्नले पर्सा बन्द
हिन्दु राष्ट्रलगायतका पाँच सूत्रीय माग राख्दै हिन्दूराष्ट्र सङ्घर्ष समितिले आव्हान गरेको बन्दका कारण पर्सा सोमबार बन्द छ। बन्दकर्ताले वीरगन्जमा रहेका पसल, उद्योग, शैक्षिक संस्था बन्द गराएका छन् भने वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो।

​बन्दकर्ताले नयाँ संविधानमा नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग राख्दै नाराबाजी समेत गरेका छन्। उनिहरुले वीरगन्जको रजतजयन्ती चोकमा ना३ख ७५३८ र ना२ख ६४३० नम्बरका ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय पर्सालाई उदृत गर्दै राससले लेखेको छ। गाईलाई राष्ट्रिय जनावर घोषित गरी गौ हत्या माथि प्रतिबन्ध लगाउनुपर्ने, धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्ने, छुवाछूत माथि रोक लगाउनुपर्ने, जातीय र क्षेत्रीय शोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने, हिन्दू मठमन्दिरको पौराणिक चलअचल सम्पत्ति पुनः मठमन्दिरको नाममा कायम गरी मठमन्दिरको सञ्चालक समितिमा आस्थावान हिन्दुलाई मात्र नियुक्त गर्नुपर्नेलगायतको माग बन्दकर्ताले उठाएका छन्।