आदरणीय राष्ट्रपिताज्यू ,
मैले राष्ट्रपति अर्थात राष्ट्र प्रमुखलाई राष्ट्रपिता भन्न रुचाएँ । म नेपालको छोरी दुई सन्तानको अधिकारविहिन आमा पचाँस वसन्तको हाराहारीमा क्यान्सरले पीडित भएकी छु । मेरो जीन्दगीको कुनै भरोसा छैन । तर, मलाई मेरो जीन्दगीको भन्दा बढी चिन्ता मेरा छोराछोरीको अस्तित्व र पहिचानको छ । आमाको नामवाट नागरिकता दिन पाउने दिनको प्रतिक्षामा पर्खंदा म थकित भैसके ।

बेथाले धेरै च्यापेपछि मलाई अर्धचेतन अवस्थामा दिल्ली पुर्‍याइयो । मेरो जवान छोराछोरी मेरो साथमा जान पाएनन् कारण उनीहरूसँग विमानस्थलमा देखाउनुपर्ने पहिचान केही थिएन बरु मसँग मेरो अमेरिकन भाउज्यूवाट जन्मेको टुटेफुटेको नेपाली वोल्ने खैरो खैरो आखा र कपाल भएको मेरो भदा जान पायो उ नेपालको वंशजको नागरिक थियो । त्यो क्षण राज्यले छोरी भएकोले मप्रति गरेको अन्यायको पराकाष्ठ मलाई लाग्यो ।

छोराले निराश भएर कुनै वेला गरेको प्रश्नले मलाई हरदम घोची रहन्छ ।  “आमा किन भारतीयसँग विहे गरेको ? नेपाली पाउनु भएन ? हामी आफ्नो देशमा वन्दी भयाै‌, अपराधी जस्तै सजाय पाईरहेछौ ” छोराले यो प्रश्न गर्दा मैले पुलुक्क छोरी तिर हेरेकी थिएँ उपनि दाईसँग सहमत देखिन्थी । उनीहरूले आफ्नो बाबालाई राम्रोसँग चिनेकै थिएनन् । उनीहरूको लागि आमा बाबा दुवै मै थिएँ । त्यो वेला मलाई आकाश र धर्तीले थिचेको थियो । अन्यायमा परेकी सीता धरतीमा विलिन भइन तर मैले त्यो पनि पाइन । मैले कुनै अपराध गरेकी छैन भनेर ती मेरा सन्तानलाई कसरी सम्झाउनु ? मसँग कुनै शव्द पनि थिएन ।

चालिस साल तिर मेरो वुवाआमाले मेरो विहे भारतको मेहर थर भएका नितान्त एक्ला युवकसँग गरिदिएका थिए । उनी वावु आमाविहिन भौँतारिदै नेपाल पुगेका रहेछन् । मैले उनको परिवारको वारे  जान्न खोजें तर सकिन । मेरा छोराछोरी नावालक हुँदा उनको मृत्यु भयो । कुईरोको काग जस्तै म वाँच्न वाध्य भए ।

साठी साल तिर मेरो छोराले एस.एल.सी. पास गर्‍यो उसका सवै साथीले नागरिकता ल्याए तर उसले पाएन । प्रमुख जिल्ला अधिकारीले “इण्डिया गै लोग्नेको घरवार पत्ता लगाई उतैवाट जे लिनु पर्छ लिनु ” भन्ने ठाडो जवाफ दिंदा म छाङ्गा वाट खसे जस्तै भए तर हरेस खाइन । हरेक प्रमुख फेरिदा म जिल्ला कार्यालय धाउँथे , कसैले सर्जिवन ल्याउ भने त्यो पनि गराएँ । गाँउ, छिमेकी, विद्यालय सवै मेरो भलो चिताउँथे जे देखे त्यही साक्षी दिए तैपनि भएन । मेरो रोगी ज्यान कष्टकर जीवन देख्दा एक दयालु सि.डि.ओ सावले भने –“ तपाईको छोरीको पीर छैन जसले विहे गर्छ उसैले नागरिकता दिइहाल्छ तर छोराको समस्या भो श्रीमतीले नागरिकता दिन मिल्दैन । बरु नेपालभर कही विदेशीसँग विहे गरेकी आमाको नामवाट नागरिकता दिईएको छ भन्ने नजिर ल्याउनुस, म दिन्छु, जागीरको मुख हेर्दिन । म कहाँवाट नजिर ल्याउ सि.डि.ओ साव भन्दै फर्किएँ ।

प्रजातन्त्रमा नागरिक हक पाईन्छ, पहिचानको लागि जताततै आन्दोलन गरिन्छ भन्ने पनि सुनेकी थिए त्यसैले म परिवर्तनको लागि हरेक आन्दोलनमा लागेँ, त्यसैमा पूर्ण विशवास गरेँ । मेरो सन्तानको अस्तित्व र पहिचानको लागिमात्र म ज्यान फाल्न तयार थिएँ । आन्दोलनमा भाग्यले वाँचे तर मेरो लागि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र केही आएन ।

कसैले मलाई एस.एल.सी. को सर्टिफिकेटमा छोराछोरीको थर वदल्न सुझाव दिए त्यो पनि मैले कोशिस गरेँ भएन । मेरो सुन्दर रुप र भरभराउँदो जवानी देख्दा नलोभिने कोही थिएन । जवान एकल मेरा पछि लाग्ने थुप्रै थिए । कतिले मेरा छोराछोरी अपनाई आफ्नो नाम दिलाउने वाचा गरी विहे गर्ने प्रस्ताव राखे तर मलाई  श्रीमानको यादले कहिल्यै छोडेन । मैले मेरो छोराछोरीको ह्रदयमा उनै दयालु वावुलाई स्थापित गरि सकेकी थिएँ त्यो उनीहरूको विश्वासलाई भत्काउन आँट गरिन । छोराछोरी मैले पो जन्माएँ, हुर्काएँ नागरिकता लिन कुन चाहि वावु खोज्दै हिडाैँ ? पहिचान दिने वारे मातृत्व पो निर्णायक हुनुपर्ने हो भन्ने मेरो वुझाई थियो ।

मेरो सन्तानले सिंह दरवार पनि हेर्न पाउँदैनन्, बैंक खाता पनि खोल्न पाउँदैनन, सम्पति राख्न पाउँदैनन् विदेश जान, जागीर खान पाउँदैनन्, सम्पूर्ण रुपले भन्नुपर्दा केही पाउँदैनन् किनभने उनीहरूसँग राष्ट्रले दिनुपर्ने कुनै पहिचान छैन । वार वार आरध्ये देव रामलाई पुकार्छु । यिनै परमेश्वर राम भारतीय थिए भन्ने पुराणमा पढेकी थिएँ , नेपाली छोरी सीता लव कुश सहित रामसँग नेपालमा वस्न आएकी भए मेरै जस्तै दुर्गती हुन्थ्यो होला ? यिनले मेरो पीडा के बुझ्लान जस्तो लाग्छ ।

आन्दोलन र परिवर्तनपछिका प्रधानमन्त्री, मन्त्री भेट्न ऋण काढेर म वार वार राजधानी आएँ । सिंह दरवार छिर्न सक्ने हाम्रो हैसियत थिएन ।  मैले मेरो पहुँच र ताकतले पुुग्ने हरेक मन्त्री, न्याय मुर्ति, अधिकारकर्मी, जन प्रतिनिधी, ठूला मान्छे धेरै भेटेँ । मेरो सन्तानलाई पहिचान दिनुस भनि विन्ति भाउ गरें, धेरैले आश्वासन पनि दिए, तर, तिनको ढोकामा जाँदा– “ए भान्जा भान्जी लिएर आएकी चिया खुवाएर पठाउ है” भनी होच्याउथे ।

“देशमा नागरिक वस्छन् भान्जा भान्जी होइन” भन्ने कुरा पनि नवुझ्ने नेता देख्दा म आगो हुन्थेँ । अन्तिम संविधान २०६३ को धारा ८ को उपधारा २ को खण्ड (ख) मा कुनै व्यक्ति जन्म हुँदाको बखत नीजको वावु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्ने छ भनि उल्लेख गरिएको छ । तर, त्यो पनि मेरो लागि आकाशको फल भयो ।

ऐले आएको मस्यौदामा पनि त्यस्तै विभेद छ भन्ने सुनेकी छु । छोराले विदेशीसँंग विहे गर्न हुने छोरीले नेपाली सँग विहे गरे मात्र नेपाली भै बाँच्न पाउने यो कस्तो कानुन हो ? आमा आफ्नो सन्तानलाई जन्म दिन सक्छिन् आफ्नो नाममा नागरिकताको प्रमाणपत्र किन दिन सक्दिनन् ? मातृत्वको मूल्य किन भएन ?

नागरिकता वितरणको राजनीतिमा धेरैको आ—आफ्ना स्वार्थ होलान्, समस्या होलान् । त्यसको समाधान गर्ने संयन्त्र निर्माण गर्ने र सही नेपाली नागरिकले नेपाली नागरिकता पाउने व्यवस्था गर्ने कर्तव्य र दायित्ववाट राज्य पछि हट्न मिल्छ र ? हरेक वर्ष नेपालमा महिला दिवस धुमधामले मनाइन्छ महिलाको अस्तित्व, ईज्जत र सम्मानको लागि यो दिवश संसारभर मनाइन्छ  । तर, हामी जस्ताले हाम्रो अस्तित्वको सम्मान कहिले पाउने राष्ट्र पिताज्यू ? राज्य व्यवस्थाको असक्षमताको सिकार पो म भए , राष्ट्रपिताज्यू मैले के विराए ?

एक पीडित नेपाली छोरी