क्वालालाम्पुर । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ मलेसियामा आयोजित टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल रेस्ट अफ वर्ल्ड XI सँग ३७ रनले पराजित भएको छ । मलेसियाको क्वालालाम्पुरमा १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै अलआउट हुँदै मात्र ९८ रन जोड्न सक्यो ।

नेपालका लागि अनिल मण्डल र राजु रिजालले समान १७, नरेश बुढाएेर र सिद्धान्त लोहनीले समान १३ तथा मेहबुब आलम, सरद भेसवाकरले ११-११ तथा सोमपाल कामीले ७ रन जोडे । कप्तान पारस खड्का २ रनमा आउट हुँदा राजेश पुलामीले खातासमेत खोल्न सकेनन्

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रेस्ट अफ वर्ल्ड XI ले २ बल अघि अल आउट हुँदै १ सय ३५ रन जोडेको थियो । श्रीलंकन क्रिकेट लेजेण्ड सनथ जयसूर्याको कप्तानीमा रहेको विश्व एघारलाई मध्यमस्कोरमा समेट्ने क्रममा नेपालका युवा स्पीनर सिद्धान्त लोहनी, राजेश पुलामी, सरद भेसवाकर तथा अभिनास कर्णले समान २ एवम् शक्ति गौचन र मेहबुब आलमले १-१ विकेट लिएका थिए ।

वर्ल्ड XI का लागि मार्कुस स्टोइनिसले ४८, वेणुगोपाल राओले २३, अहमद फैजले १०, सनथ जयसूर्याले ६, चेतन सूर्यवंशीले ४, अब्दूर रज्जाकले ३, अमिनुल इस्लामले २ तथा रसिद लतिफले १ रन जोडे ।

‘ब्याट फर नेपाल’ नाम दिइएको यस प्रतियोगिताबाट संकलित रकम नेपालका भूकम्पपीडितहरुका लागि खर्च गरिनेछ ।