सुर्खेत : सुदुरपश्चिममा अखण्डको माग गर्दै आन्दोलन चर्की रहेको बेलामा मध्यपश्चिममा पनि अखण्डको आन्दोलन सुरु भएको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतबाट आन्दोलन सुरु भएको छ । यहाँका प्राध्यापक तथा विद्यार्थीहरुको सक्रियतामा नागरिकस्तरबाट अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समिति गठन गरि आन्दोलन सुरु गरिएको हो । समितिले शुक्रवार वीरेन्द्रनगरमा मध्यपश्चिम टुक्राउन नहुने भन्दै प्रदर्शन गरेको छ । यहाँका राजनीतक दल, नागरिक समाज, विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले अखण्ड मध्यपश्चिमको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तेजविक्रम बस्नेतले संघीयताको नाममा मध्यपश्चिमलाई टुक्राटुक्रा पार्न खोजिएको भन्दै त्यसो नर्गन चेतावनी दिए । उनले मध्यपश्चिम विकास क्षेत्रलाई टुक्राउन नहुने र यस क्षेत्रमा बन्ने प्रदेशको राजधानी पनि सुर्खेत नै हुनुपर्ने माग गरे । कुनैपनि बहानामा मध्यपश्चिम टुक्राउन नहुने भन्दै उनले अखण्ड मध्यपश्चिमका लागि आफूहरु जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । उनले आन्दोलनलाई थप शसक्त र कडा पारिने समेत उल्लेख गरे । यस्तै समितिका सदस्य एवम् मध्यपश्चिमाञ्ल विश्वविद्यालयका उपप्राध्यापक कमलेश डिसीले प्रदेशहरुको सिमांकन वैज्ञानिक र न्यायोचित नभएको बताए । उनले नेताहरुले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न मात्र खोजेको भन्दै सुर्खेतलाई सुदरपश्चिममा लगेर जोडिनु न्यायोचित नहुने धारणा राखे । समितिका सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीले सिमांकन गर्दा उत्तर–दक्षिण जोड्नुपर्ने र मध्यपश्चिमलाई एउटै प्रदेशमा मात्र समेटिनुपर्ने बिचार व्यक्त गरे । संघर्ष समितिले मध्यपश्चिमलाई टुक्राउन नदिन र सुर्खेतलाई प्रादेशिक राजधानी बनाउनका लागि चरणवद्ध आन्दोलन गर्ने घोषणा समेत गरेको छ । सुर्खेतमा अखण्ड मध्यपश्चिमको लागि आन्दोलन सुरु भइरहँदा यस क्षेत्रका अन्य जिल्लाहरुमा पनि यसको पक्षमा आवाजहरु उठ्न थालेका छन् । यस क्षेत्रका बासिन्दाले मध्यपश्चिमलाई सुदुर पश्चिममा गाभ्न खोजिएको भन्दै त्यसो गर्न नहुने बताएका छन् । साथै उनीहरुले अहिलेको मध्यपश्चिम क्षेत्रलाई एउटा सिङ्गो प्रदेश बनाउनुपर्ने माग समेत गरेका छन् ।