धनगढी : अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको हडतालका कारण गन्तव्यतर्फ जाने यात्रुको बिचल्ली भएको छ । बन्दका कारण आज दोस्रो दिन पनि धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेपछि भारतलगायत विभिन्न ठाउँबाट आएका सयौँ यात्रु धनगढी बसपार्कमा अलपत्र परेका हुन् । बन्दबाट कैलालीका धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायत क्षेत्रका पसल, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै ठप्प हँुदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बन्द आह्वानकर्ताले आज पनि बिहानैदेखि प्रदर्शन जारी राखेका छन् । बन्दका कारण पर्याप्त मात्रमा होटलसमेत नखुल्दा एउटै कोठामा आफूहरुले ठेलमठेल गरेर बस्नुपरेको भारतको पुनाबाट आएर धनगढी बसबिसौनीमा अलपत्र परेका कैलाली, लम्कीका ललित विष्टले गुनासो गरे । धनगढीको बसबिसौनीका होटलमा झन्डै दुई सय यात्रु गन्तव्यतर्फ जान नपाई अलपत्र परेको अर्का यात्रु बलबहादुर धामीले बताए । बन्दका कारण दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु पनि मर्कामा परेका छन् । व्यापार व्यवसाय ठप्प भएपछि दैनिक उपभोग्य वस्तुसमेत नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो छ । यता थारु सम्बद्ध पार्टी तथा सङ्घसङ्गठनले पनि विज्ञप्ति जारी गरी अखण्ड सुदूरपश्चिमबाट कैलाली कञ्चनपुरलाई अलग गरी थरुहट प्रदेशमा गाभ्नुपर्ने बताउँदै आन्दोलन थालेपछि सर्वसाधारण दोहोरो मारमा परेका छन् । रासस