एजेन्सी :  अफगानिस्तानको राजधानी काबुलमा भएका दुर्इ अलग बम धमाकामा कम्तिमा ४० जना मारिएका छन् । धमाकामा परेर सयौं मानिस घाइते बनेका छन् ।

शुक्रबार साँझ पुलिस प्रशिक्षण केन्द्र बाहिर एक आत्मघाती हमलाकारीले आफैंलार्इ विस्फोट गराउँदै कम्तिमा २० जना प्रशिक्षार्थी प्रहरी मारिएका छन् ।

त्यसपछि विमानस्थल नजिकै गोली र बमबारी गरेको आवाज सुनिएको थियो । पुलिस प्रशिक्षण केन्द्रमा गरिएको हमलाको जिम्मेवारी  तालिबानले लिएको छ ।

यसभन्दा अघि शाह शाहिद इलाकाको सैन्य इलाकामा भएको एक ट्रक धमाकामा कम्तिमा १५ जना मारिए । घटनामा कम्तिमा २ सय ५० जना गम्भीर घाइते भए ।

यसमा धेरै मानिस बमले फुटेका शिशाले लागेर घाइते भएका हुन् । जुन ठाउँमा धमाका भयो, त्यहाँ गहिरो खाडल परेको छ ।

यो धमाकामा कयौं भवन र संरचनाहरु क्षतविक्षत भएका छन् । भत्किएका ती घरमा अझै धेरै मानिस पुरिएको अनुमान गरिएको छ । समाचार अनुसार यी विस्फोटमा अधिकांश सर्वसाधरणले ज्यान गुमाएका छन् ।

अफगान राष्ट्रपति असरफ घानीले हमलामा तालिबानको हात रहेको जनाउँदै तालिबानमा देखिएको नेतृत्व हत्याउने होडबाजीको विवाद लुकाउने प्रयासका रुपमा यो हमलालार्इ लिएका छन् ।