नेपालगन्ज, साउन १९ । आगोले जलेकी बर्दिया, मोहम्मदपुर–१ गणेशपुरकी ३५ वर्षीया गीता नेपाली शेषको घटना रहस्यमय बन्दै गएको छ । आफन्त र गीता आफैले मट्टीतेल खन्याएर आफै आँगो लगाएको दाबी गरे पनि घटनाको प्रकृति अध्ययन गर्दा घटना रहस्यमय भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा मट्टितेल खन्याएको कुनै संकेत नमिलेको र ढिलो गरि जानकारी पाएकाले सघन रुपमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो ।

पीडित महिलाले नै घटना विवरण लुकाएकाकारण समस्या भएको छ । परिवारका सदस्यहरूको बयान एक अर्कामा बाझिएको प्रहरीले जनाएको छ ।

गीताका श्रीमान नैमुद्दिन शेषले दोस्रो विवाह गरिसकेका छन् । दुई छोरीकी आमा गीतालाई थाहै नदिई उनले भारत गुजरात गएका बेला त्यहीबाट अर्को विवाह गरेर नेपाल आएका थिए ।

नैमुद्दिनले दोस्रो विवहा गरेपछि गीता र नैमुद्दिनको बीचमा खटपट चलिरहेको गीताकी भाई बुहारी पार्वती नेपालीले जानकारी दिनुभयो ।
गीता शुक्रबार राति करिब ९ बजे जलेकी हुन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले एम्बुलेन्स मार्फत् काठमाडौं लगिएको छ । गीताका हात, खुट्टालगायत शरीरका अधिकांश भाग आगोले जलेका छन् ।

उनलाई अग्नी हिंसा पीडित नेपाल नामक संस्थाको सहयोगमा एम्वुलेन्समार्फत सोमवार साँझ काठमाडौ पठाईएको हो । महिलामाथि भएको आगजनीको नेपालगन्जस्थित महिला अधिकारकर्मीहरूले विरोध गरेका छन् ।