१८ श्रावण काठमाडौं । नेपालमा ठूला संरचनाहरु भत्काउने आधुनिक उपकरणहरु नभएपछि खरिद प्रक्रिया अगाडि बढाएको सरकारले पहिलो प्रयत्न विफल भएको भन्दै पुनः खरिद प्रक्रिया थाल्ने बताएको छ।

भूकम्प गएको १०० दिन बितिसक्दा पनि थुप्रै स्थानहरुमा आंशिक रुपमा भत्किएका पक्की घरहरु उपकरणकै अभावमा भत्काउन नसक्दा मानवीय जोखिम अझै हट्न सकेको छैन्।

भूकम्प प्रभावित जिल्लाहरुमा भत्किन लागेका ठूला र भित्री गल्लीका घरहरु भत्काउन आवश्यक औजार अभाव भएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले भूकम्प गए लगत्तै त्यस्ता उपकरण किन्न टेन्डर प्रक्रिया अगाडि बढाएको थियो।

तर क्रेन, सानो लोडर, विशेष खालको ड्रिलिङ मेशिन, एक्सकाभेटर, साँघुरो गल्लीमा लैजान मिल्ने स्किड ह्विल, जस्ता उपकरण खरिद गरिएपनि मुख्य आवश्यकताको रुपमा देखिएको २० मिटर लामो एक्सकाभेटर भने किन्न नसकिएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए।

साँघुरो

हाम्रो अनुमान ३ करोड रुपैयाँमा पाइएला भन्ने थियो, तर टेण्डर ६ करोडभन्दा माथिको मात्र आयो, त्यसैले हामीले किन्न सकेनौँ, अब फेरि गर्दैछौँ, अहिलेको बजेट कार्यक्रममा राखेर गर्दैछौँ

तुलसी सिटौला, सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय

उनले त्यो औजार किन्ने प्रकृया फेरी थालिन लागेको पनि बताए।

उनले भने, “हाम्रो अनुमान ३ करोड रुपैयाँमा पाइएला भन्ने थियो, तर टेण्डर ६ करोडभन्दा माथिको मात्र आयो, त्यसैले हामीले किन्न सकेनौँ, अब फेरि गर्दैछौँ, अहिलेको बजेट कार्यक्रममा राखेर गर्दैछौँ।”

भूकम्प गएको १०० दिन पूरा हुँदासम्ममा पनि काठमाण्डू उपत्यकामा मात्र खासगरी साँघुरो बस्तीमा रहेका तीन हजारभन्दा बढी घरहरु भत्काउन आवश्यक रहेको शहरी विकास मन्त्रालयले बताएको छ।

उक्त मन्त्रालयले खरिद गरिएका उपकरणहरुबारे जानकारी नभएको र के कति औजार कहाँ पुगेको भन्नेबारे आफूहरुले पनि जानकारी मागिरहेको जनाएको छ।

प्राविधिक

कतिपय उपकरणहरु भवन भत्काउनभन्दा पनि अन्य काममा प्रयोग गरिएको देखिएको पनि बताइएको छ।

मन्त्रालयका सह सचिव शिवहरी शर्माले भने, “कति उपकरण आयो, कहाँ कहाँ गयो, हामीलाई थाहा नै भएन, त्यसैले हामीले कति औजार आएको छ त्यो हामीले थाहा पाउनुपर्छ भनेर भनेका छौँ।”

भत्काउन पर्ने भनेर सिफारिस गरिएका घरहरुलाई आवश्यक उपकरण तथा प्राविधिक सहयोग सशुल्क दिनका लागि मन्त्रालयले यी औजार मगाएको बताएको छ।

स्रोत बिबिसि