काठमाडौं: नेपाल प्रहरीले नयाँ संविधानमा सशस्त्रसँग जोडिएको ‘प्रहरी’ शब्द हटाउन माग गरेको केही दिनपछि सशस्त्र प्रहरी बलका महानिरीक्षकले प्रमुख दलका शीर्ष नेतालाई भेटेर त्यो शब्द नहटाइदिन आग्रह गरेका छन्।
सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले आइतबार प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष रहेका गृहमन्त्री वामदेव गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाओवादी नेता बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई भेटेर यस्तो आग्रह गरेका हुन्।
भेटमा वन्तसँगै केही एआईजी र डीआईजी पनि सहभागी थिए। सशस्त्रलाई पक्राउपुर्जी जारी गर्ने अधिकार दिएपछि असन्तुष्ट बनेको नेपाल प्रहरीले सशस्त्रसँग जोडिएको प्रहरी शब्द हटाएर सशस्त्र सुरक्षा बल राख्न संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई सुझाव दिएको थियो।
शीर्ष नेतासँग वन्तले १३ वर्षदेखि सशस्त्र प्रहरी भनेर चिनिँदै आएको संगठनमा प्रहरी शब्द हटाउँदा व्यावहारिक नहुने बताएका थिए। उनले अन्तर्राष्ट्रिय प्रयासमा अर्धसैन्य बल सेनाभन्दा दोस्रो बरियतामा हुने भएकाले नेपालमा पनि सशस्त्रलाई दोस्रो बरियतामा राख्न सुझाव दिएका थिए।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी पुष्पराम केसीले संगठनले बुझाएको सुझावबारे सम्झाउन दलका शीर्ष नेतालाई भेटेको स्वीकार गरे। उनले भने, ‘संगठनलाई बचाइराख्नु र बलियो बनाउनु दायित्व हो। त्यसैले हामीले १३ वर्षदेखि सशस्त्र प्रहरी रहँदै आएकोमा अहिले प्रहरी शब्द हटाउँदा जनमानसमा दुविधा पैदा हुने बताएका हौं। यसलाई कसैले अन्यथा मान्नु पर्दैन।’