१८ श्रावण काठमाडौं । नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने तथा भूकम्पपछि पनि नगरकोट सुरक्षित छ भन्ने सन्देश प्रदान गर्न नगरकोट नाल्दुम पर्यटन विकास समितिले धुलिखेलबाट नगरकोट र नालाबाट नगरकोट पदयात्राको आयोजना ग¥यो । ‘सूर्योदय र सूर्यास्त अवलोकनका लागि नगरकोट’ भन्ने नाराका साथ समुद्री सतहबाट ७ हजार २ सय फिट उचाइमा रहेको पर्यटकीय स्थल नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा भूकम्पपछि नगरकोट सुरक्षित छ भन्ने सन्देश दिन पदयात्राको आयोजना गरेको समितिका अध्यक्ष दीपक लामिछानेले बताउनुभयो ।

बिहान ९ बजे सुरु भएको पदयात्रामा ५०० भन्दा बढीको सहभागिता रहेको थियो । गत वैशाख १२ गते आएको भूकम्पबाट पर्यटकको आगमन कम भएपछि नेपालमा नै पर्यटक भित्र्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्राको आयोजना गरेको हो । पदयात्रामा स्वदेशी तथा विदेशी पर्यटकको समेत सहभागिता रहेको थियो । पानी र वर्षाको पर्वाह नगरी पदयात्रामा उत्साहपूर्वक स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता रहेको कार्यक्रम संयोजक नवीन गुरुङले बताउनुभयो ।

पदयात्रामा पर्यटक, पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रे लगायतका बासिन्दाको सहभागिता थियो । पदयात्रामा बालुवापाटी देउपर गाविसमा रहेको बालुवा उमाविका शौचालय निर्माण, नगरकोटस्थित शान्ति डाँडामा भौतिक पूर्वाधार निर्माणको समेत उद्देश्य रहेको समितिका सचिव धनबहादुर लामाले जानकारी दिनुभयो । धुलिखेलबाट नगरकोटसम्म १८ किलोमिटर र नालाबाट नगरकोटसम्म १० किलोमिटर गरी दुईवटा पर्यटन रुटबाट पदयात्रा सञ्चालन गरिएको थियो ।