एजेन्सी । अभिनेत्री मनिषा कोइरालाको बलिउड करियरमाथि पुनः गेम शुरु भएको छ । लामो समयको अन्तरालपछि शुरु भएको यो गेमबाट मनिषा उत्साहित देखिएकी छिन् । मनिषाको लिड रोल रहेको नयाँ बलिउड फिल्म हो गेम । हाल यो फिल्मको शुटिङमा व्यस्त छिन् मनिषा । लामो समयपछि बलिउडमै फर्किएकी मनिषा यति उत्साहित भएकी छिन् कि उनले शुटिङ स्थलबाटै सामाजिक सञ्जाल ट्वीटर मार्फत फिल्मको तस्वीर सार्वजनिक गर्दै गेमको फस्टलुक समेत सार्वजनिक गरेकी छिन् । मनिषा जस्ती प्रोफेशनल अभिनेत्रीले देखाएको यस्तो आतुरीपनलाई लिएर बलिउडमा विभिन्न गसिपहरु बनाउँन थालिएको छ ।
मर्डर मिस्ट्री जर्नरमा राखिएको मनिषाको यो फिल्म भारतको कन्नड राज्यमा भएको एक रहस्यमय हत्यामा आधारित रहेको बताइन्छ । एआर रमेशले निर्देशन गरिरहेको यो फिल्ममा मनिषाले अर्जुन सर्जा र सामसँग अनस्क्रिन रोमन्स गर्दैछिन् । केही वर्ष पहिले नै शुटिङ शुरु भएको फिल्म गेम मनिषालाई क्यान्सर लागेपछि रोकिएको थियो । यसबीचमा अमेरिकामा उपचार गराएकी मनिषा हाल क्यान्समुक्त भएपछि रोकिएको गेमको पुनः शुटिङ शुरु भएको हो । मनिषाले सार्वजनिक गरेको तस्वीरमा उनी कालो ड्रेसमा निकै आकर्षक र बोल्ड देखिएकी छिन् ।