काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ।  भारतीय आयल कर्पोरेशन(आइओसी) ले अगस्ट महिनामा पठाएको मूल्य हेरेपछि भाउ घटाउने निगमले जनाएको छ । ‘आइओसीले पठाएको मूल्यका आधारमा यहाँ मूल्य घटाउने निर्णय हुनेछ,’ निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने, ‘अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घटेको हुँदा यहाँ पनि घट्छ।’  निगमले वैशाख १२ गतेको भूकम्पपछि स्वचालित मूल्य प्रणालीलाई स्थगित गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा पनि भूकम्पबाट प्रभावित जनतालाई राहत दिन मूल्य घटबढ गरिएको थिएन। अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट आयलको मूल्य ५२ डलर २१ सेन्ट छ। ग्रिस संकट, इरानसँग भएको आणविक सम्झौंता र चीनमा औद्योगिक क्षेत्रको मन्दीले तेलको मूल्य निरन्तर घटिरहेको छ। निगम स्रोतका अनुसार डिजल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँसम्म घट्नेछ। आइओसीले आइतबार मूल्य पठाएमा निगमले तत्कालै मूल्य घटाउनेछ।  अहिले पेट्रोल एक लिटरको १ सय ९ रुपैयाँ, डिजल र मट्टितेल ८६ रुपैयाँ ५० पैसा कायम छ। निगमलाई खाना पकाउने ग्यास वाहेक सबैमा उच्च नाफा छ।  अहिले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा क्रमश १० रुपैयाँ १२ पैसा, ४ रुपैयाँ ४ पैसा, २० रुपैयाँ ५२ पैसा र ५५ रुपैयाँ २० पैसा नाफा छ।निगमलाई ग्यास एक सिलिन्डरमा १७ रुपैयाँ २८ पैसा घाटा छ। आइओसीले अगस्टमा पठाउने मूल्यमा ग्यासमा समेत नाफा हुने स्रोतले बतायो।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारत सरकारले भने शुक्रवारनै पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ।