पर्वत । अबिरल वर्षाका कारण मोदीखोलामा बाढी आउँदा दुई जलबिद्युत आयोजनाको उत्पादन बन्द भएको छ । बाढी र पहिरोका कारण पर्वत  देउपुरको १४ दशमलब ८ मेघावाट क्षमताको मोदीखोला जलबिद्युत केन्द्र र चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एकमा बिद्युत उत्पादन बन्द भएको हो ।

पर्वतको तिलहार गाविस – ९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि मोदीखोला जलबिद्युत आयोजनाको उत्पादन बुधबार रातीदेखि बन्द भएको हो । प्रसारणलाइन अबरुद्ध भएपछि इन्टेकमा बिद्युत आपुर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलबिद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । अबरुद्ध सडक संचालन भएपछि प्रसारणलाइन मर्मत गरि बिद्युत उत्पादन सुरु गरिने भट्टले बताउनुभयो

यसैगरी मोदीखोलामा आएको बाढीले चुवा स्थित बिद्युत गृहमा क्षति पुर्‍याएपछि १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनाको उत्पादन बन्द भएको छ  । बाढीले बिद्युत गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर बिद्युतगृहमा नै बाढी पसेको छ । बिद्युतगृहको ढोका बन्द गरेका कारण ठूलो क्षति नपुगेपनि उत्पादन सुरु गर्न केही समय लाग्ने आयोजनाका इलेक्ट्रिकल ओभरसियर बिष्णुु सुबेदीले बताउनुभयो ।