काठमाडौं । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा काठमाडौँ आउने जाने पृथ्वी राजमार्ग र काठमाडौँ हेटौडा सडकका विभिन्न खण्ड अवरुद्ध भएका छन् । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा र अरु वैकल्पिक नाकाबाट समेत गाडीको आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । दिङको जोगिमारामा बुधबार राती पहिरो खस्दा नागढुंगा हुँदै काठमाडौं भित्रिने र बाहिरिने गाडी ठप्प भएका छन । पानी पर्न छोडेपछि अहिले त्यहाँ बाटो एकतर्फी खुलाउने प्रयास भैरहेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै काठमाडौं हेटौंडा सडकखण्डमा पनि ठाउँ ठाउँमा पहिरो खसेको छ । एक दुईवटा साना गाडी जोखिम मोलेर वारपार गरे पनि चारपाङग्रे गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । यस्तै काठमाडौंबाट नुवाकोट जाने आउने गाडी पनि चल्न सकेका छैनन । नुवाकोटको मुड्कु सडकखण्डको ३५ किलोमा लगातारको झरीका कारण सडक माथिको पहाड चिरा परेर खस्ने अवस्थामा रहेकाले जोखिम बढेको छ । भूकम्पले धेरै क्षती र्पुयाएको त्यस सडकखण्डमा यसअघि बाटोमाथिको पहाडबाट ढुंगा खस्दा ४ जना यात्रुको ज्यान गएको थियो । भूकम्पपछि अवरुद्ध बनेको यो सडकखण्ड लामो समय पछि खुलेको थियो । भूकम्प गएदेखि नै अवरुद्ध भएको पाल्चोकको बाह्रबिसे÷तातोपानी सडकखण्ड अझै खुल्न सकेको छैन । यस्तै नवलपारीको जय श्री खोलामाथिको पुल बगाएपछि राखिएको अस्थायी बेलिब्रिजमा ठूला गाडी चल्न थालेपछि अर्कै समस्या थपिएको छ । भार बोकेका गाडी फस्ने गरेपछि गाडीको ओहोरदोहोरमा समस्या भएको यात्रुले बताएका छन् ।