काठमाडौं– फिल्म ‘कबड्डी’ २०७१ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ। मंगलबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा रामबाबु गुरुङद्वारा निर्देशित उक्त फिल्मले उत्कृष्ट फिल्मको ट्रफी र प्रमाणपत्र हात पारेको हो।
उत्कृष्ट निर्देशकको पुरस्कार भने ‘टलकजंग भर्सेज टुल्के’का लागि निश्चल बस्नेतले हात पारे। माओवादी जनयुद्धको पृष्ठभूमिमा बनेको ‘टलकजंग भर्सेज टुल्के’ले सरकार र विद्रोहीबीचको द्वन्द्वका कारण पीडित बनेको निर्दोष युवकको कथालाई प्रस्तुत गरेको थियो।
फिल्म ‘कबड्डी’का मुख्य अभिनेता दयाहाङ राईले फिल्म ‘सम्बोधन’बाट उत्कृष्ट अभिनेताको पुरस्कार थापे। अभिनेत्रीतर्फको राष्ट्रिय पुरस्कार भने ऋचा शर्मा र संगम विष्टले संयुक्त रुपमा पाए। शर्माले ‘टलकजंग भर्सेज टुल्के’बाट र विष्टले ‘लभ यु बाबा’बाट उत्कृष्ट अभिनेत्रीकै अवार्ड हात पारेका हुन्।

राष्ट्रपति रामवरण यादवले विजयी सबै कलाकारलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।