काठमाडौं । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । ट्वान्टी ट्वान्टी बिश्वकपमा छनौट हुन असफल भएको नेपालको लागि लिग च्याम्पियनसिप लयमा फर्कने राम्रो अवसरका रुपमा रहेको छ ।
स्कटल्याण्डको ऐरमा हुने खेल नेपाली समय अनुसार दिउसो साढे तीन बजे हुनेछ ।

आयरल्याण्डमा खराब प्रदर्शन गरेपछि आलोचित बनेको नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हराउनु सहज भने हुने छैन । ट्वान्टी ट्वान्टी छनौट खेलमा नेदरल्याण्डससंगै संयुक्त रुपमा विजेता बनेको स्कटल्याण्डले आफ्ना चार खेलाडीलाई आराम दिएको छ । नेपालले पनि दुई खेलाडी परिवर्तन गरेको छ । सुवास खकुरेल र विनोद भण्डारीको स्थानमा नेपाल क्रिकेट संघ क्यानले महेश क्षेत्री र पृथु बास्कोटालाई टिममा समावेश गरेको छ । एक दिवसिय विश्वकप छनोटसम्म पुग्ने ढोकाको रुपमा रहेको यो प्रतियोगिता होम एण्ड अवेका आधारमा हुनेछ । लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्डको यो पहिलो खेल हो ।

२०१८ को विश्वकप छनोट खेल्ने नेपाली टिमको बाटो यहि प्रतियोगिताको नतिजाले तय गर्नेछ । नामिवियामा यसै बर्ष भएको डिभिजन टुमा शिर्ष चार टिमले विश्व लिग च्याम्पियनसिप खेल्ने मौका पाएका हुन । प्रशिक्षक पुवुदु दशानायकेले स्कटल्याण्ड एकदमै बलियो टिम भएको र उसलाइ पराजित गर्न गुमेको फर्म फर्काउनुपर्ने बताएका छन् । महेश र पृथुले बेलायतमा अभ्यास गरेको र रन पनि बनाएका कारण उनीहरुले आफ्नो भूमिकामा न्याय गर्ने दाशानायकेको विश्वास छ । तर नेपालले स्कटल्याण्डमा अभ्यास गर्न भने पाएन ।

नेपालले सोमबार एक मात्र अभ्यास खेल खेल्ने तालिका रहेको थियो तर बर्षाका कारण त्यो पनि रद्ध भएको प्रशिक्षक दशानायकेले जानकारी दिए । बिश्व क्रिकेट लिग नेपाली क्रिकेटको भविष्यका लागि निकै महत्वपूर्ण रहेकाले उत्कृष्ट खेल्नुको विकल्प नरहेको दशानायकेको भनाइ छ । नेपाल र स्कटल्याण्ड एकदिवशीयमा एक पटक आमने सामने भएका थिए । २०१४ मा एकदिवशीय बिश्वकपका लागि भएको छनौट खेलमा नेपाल स्क्टल्याण्डसंग ९० रनले पराजित भएको थियो ।