१२ साउन, काठमाडौं । नयाँ बन्ने संविधानमा आफ्नो हक अधिकार सुनिश्चित गर्न माग गर्दै १२ जिल्लाका मुक्त हलिया, कमैया, कमलरी काठमाडौं आएका छन् । संविधानमा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गर्न माग गर्दै काठमाडौं आएको क्याराभान संयोजक राजुराम भुलले बताउनुभयो ।

उनीहरू आफ्नो १६ बुँदे माग एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले र कृषि तथा जलश्रोत समितिका सभापति गगन थापालाई बुझाई सकेका छन् ।

मुक्त हलिया, कमैया र कमलरीको अधिकार सुनिश्चित गर्न राजनीतिक पार्टीका मुख्य नेता, सरकार प्रमुख र सभासदलाई उनीहरूले १६ बुँदे माग पत्र बुझाउने बताएका छन् ।

उनीहरूको लिखित माग पत्र बुझदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूर तथा मध्यपश्चिममा रहेका मुक्त हलिया, कमैया र कमलरीको अधिकार सुनिश्चिताका लागि सबै दलहरूको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।

सरकारबाट मुक्त घोषणा भएपछि झनै दोहोरो समस्यामा परेको कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष बसन्ती चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो ‘सरकारबाट दिने भनिएको सेवा सुविधा पनि पाएका छैनौ र मालिकको घरमा गएर काम गर्ने अवस्था पनि रहेन, हामीलाई राज्यले समानता, सहभागिता र समाबेसी व्यवहार गर्नुपर्छ ।’

यसैगरी संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले संवाद समितिमा समुदायका सवालमा अधिकतम छलफल र अधिकार स्थापित गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उनीहरूको माग पत्र बुझ्दै कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले भन्नुभयो ‘तपाईका माग जायज छन् । फरक मतका रुपमा संविधानसभामा आफ्नो मत दर्ता गराएको छु ।’
मुक्त कमैया महिला विकास मञ्चमा कार्यरत ईन्द्र चौधरीले अहिले आएको प्रारम्भिक मस्यौदाले मुक्त हलिया, कमैया, कमलरीको समस्यालाई सम्बोधन नगरेकोले कैलालीदेखि काठमाडाैं आउन बाध्य भएको बताउनुभयो ।

साउन ५ गते कैलालीको धनगढीबाट सुरु भएको मुक्तहलिया, कमैया र कमलरीको संयुक्त क्याराभान अभियानमा बझाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, दार्चुला, सुरखेत, जाजरकोट र हुम्लाबाट गरी ३० जना मुक्त हलिया, कमैया, कमलरी काठमाडौं आएको क्याराभान संयोजक राजुराम भुलले  जानकारी दिनुभयो ।

स्रोत महिला खबर