११ साउन, काठमाडौं । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा नागरिकले दिएका सुझाव समेटेर तयार पारिएको प्रतिवेदन अन्तिम रुप दिने आज सकिंदैछ । यसको लागि संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको बैठक बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकले प्रतिवेदन तयार पार्ने र आजै बेलुकी या भोलि बिहानसम्म संविधानसभा अध्यक्षलाई बुझाइने समिति सभापति प्रमिला राणाले जानकारी दिनुभयो । ७५ वटै जिल्लाबाट आएका सुझावलाई समेटेर उपसमितिले प्रतिवेदन तयार पारिसकेको छ । सुझाव सङ्कलनका लागि २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेका सभासद्ले तयार पारेको प्रतिवेदनको आधारमा उपसमितिले हिजो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनलाई एकीकृतरुपमा अध्ययन गरेर सहमति, असहमति र फरक मतलाई बेग्लाबेग्लै रुपमा समेट्ने काम समितिको सचिवालयले गरिरहेको छ । प्रतिवेदनलाई एकीकृत बनाएर संविधानसभामा पेस गर्ने र संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने कार्यसूची यसअघि नै तय भइसकेको छ । संवाद समितिले आफ्नो जिम्मेवारी पूरा गरेपछि संविधानसभामा पठाउने र संविधानसभाले सहमति भएका विषयलाई मस्यौदा गर्न मस्यौदा समितिमा पठाउनेछ । मस्यौदा समितिले तयार पारेको मस्यौदालाई विधेयकको रुपमा संविधानसभामा पठाउने र त्यसमाथि पनि सभासद्ले संशोधन राख्न सक्ने प्रावधान छ । नागरिकबाट प्राप्त सुझाव समेटेर यसै महिनाभित्र संविधान घोषणा गर्ने दलहरुबीच सहमति भैसकेको छ ।