११ साउन, काठमाडौं । यसवर्षको मनसुनमा पोहोरपरारको भन्दा फरक ढंगले वर्षा भैरहेको मौसमविदले बताएका छन् । साउनको मध्य भैसक्दा समेत कतिपय ठाउँमा अझै राम्ररी पानी पर्न सकेको छैन । मध्य तराईमा खडेरी परेको छ । कतिपय ठाउँमा भने भारी वर्षा भएको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार जलवायु परिवर्तन, बढ्दो वायु प्रदुषण लगायतका कारणले अघिल्लो वर्षभन्दा मनसुन फरक देखिएको हो ।

बंगालको खाडी र राजस्थानमा विकास भएको न्युनचापीय क्षेत्र कमजोर भएमा नेपालमा पानी पर्ने उहाँले बताउनुभयो । पर्सि बुधबारदेखि त्यहाँको न्युनचापीय क्षेत्र कमजोर हुने भएकाले नेपालका धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

अहिले न्युनचापीय क्षेत्र बलियो भएकाले नेपाल आउने जलवाष्पयुक्त हावा त्यस आसपासमा नै रुमल्लिएकाले पानी नपरेको मौसमविद् अर्यालले बताउनुभयो । यस्तै स्थानीय वायूको प्रभावका कारण आज पनि हिजो अस्ति जस्तै बेलुकी र रातिमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।