६ साउन, काठमाडौं । नागरिक सम्बन्ध तथा सुझाव समितिले सर्वसाधारण जनताले मस्यौदामाथि दिएका सुझावलाई समेटी ढिलोमा पाँच दिनभित्र संविधानसभामा प्रतिवेदन पेस गर्ने जनाएको छ ।

समितिका सदस्य प्रेम गिरीका अनुसार २४० वटै निर्वाचन क्षेत्र र संविधानसभा सचिवालयमा प्राप्त सुझावलाई मिलाउने काम भइरहेको छ ।

जिल्लागत रुपमा आएका सुझावलाई समायोजन गरी ७५ वटा प्रतिवेदन बनाउने काम गरिने उनले जानकारी दिए ।

समितिले २४० वटै निर्वाचन क्षेत्रमा मस्यौदा माथि सुझाव सङ्कलन गर्न सोमबार र मङ्गलबार सभासद्हरुलाई खटाएको थियो । सभासद्हरुलाई सहयोग गर्न सचिवालयका कर्मचारी खटिएका थिए ।

सभासद्हरुले सर्वपक्षीय भेला आयोजना गरी सुझाव सङ्कलन गरेका थिए । यसैगरी, सचिवालयले टेलिफोन, फ्याक्स, इमेल बेवसाइटमार्फत पनि सुझाव लिने व्यवस्था मिलाएको थियो ।