ब्राजिलमा अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदका लागि खेलाडीहरु बसोबास गर्ने ओलम्पिक भिलेज निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ ।

रियो दि जेनेरियोमा ओलम्पिक भिलेज बनाउने काम ८५ प्रतिशत सकिएको ठेकेदार कम्पनीको दाबी छ ।

सन् २०१२ बाट निर्माण सुरु भएको ओलम्पिक भिलेजमा हालसम्म ४ सय ८ अपार्टमेन्ट निर्माण भइसकेका छन् ।

आगामी वर्ष फेबु्रअरीकोअन्तिमसम्ममा भिलेज निर्माणको सम्पूर्ण काम पुरा हुने बताइएको छ ।

त्यसपछि ओलम्पिक भिलेज ओलम्पिक आयोजक कमिटीलाई हस्तान्तरण गरिनेछ । कमिटीले आवश्यक फर्निचर तथा अन्य सामाग्री राखेपछि अपार्टमेन्टहरु खेलाडी बस्न तयार हुनेछन् ।

ओलम्पिक खेलकुद अर्को वर्ष जुलाईबाट सुरु हुँदैछ । यसपटक ओलम्पिक भिलेजमा अत्याधिक सोलर उर्जा र हरित प्रणाली प्रयोग गरिएको ब्राजिलियन अधिकारीहरुले दाबी गरेका छन् ।

विश्वमा आजभोलि ठूला खेलकुद प्रतियोगिताहरु आयोजना हुँदा खेलाडीलाई तारे होटेलको साटो स्पोर्ट्स भिलेज बनाएर राख्ने गरिएको छ ।

सबै खेलाडीहरुका लागि तयार गरिने यी भवनहरु खेलकुद प्रतियोगिता सकिएपछि भने नीजि प्रयोजनको लागि बिक्री गर्ने गरिएको छ ।