६ साउन, काठमाडौं । राप्रपा नेपालले  कहिलै नेपाल बन्द नगर्ने जनतासामू गरेको प्रतिबद्धता लत्याएको छ। पार्टीले देशका विभिन्न जिल्लामा नेपाल बन्दको घोषणा गरेको छ।

पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, सिराहा तथा मकवानपुर, बारा, पर्सामा बन्दको प्रभाव परेको छ। मंगलबार मकवानपुरको हेटौडामा संविधानको मस्यौदामा सुझाव संकलन भइरहेको बेला राप्रपा नेपालका कार्यकर्ताहरूले हिन्दु राज्य चाहियो भन्दै भाड्न खोजेपछि झडप भएको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापा, उनका भाइ सभासद गणेश थापा दलबलसहित सुझाव संकलनस्थल पुगेका थिए। झडपमा गणेश थापामाथि खुकुरी प्रहार भएको थियो। सो घटनाको विरोधमा राप्रपा नेपालले देशका विभिन्न जिल्लामा बन्द आयोजना गरेको हो।

दोस्रो संविधानसभाको चुनावमा जनतामाझ जाँदा राप्रपा नेपालले कहिलै नेपाल बन्द नगर्ने प्रतबद्धता ब्यक्त गरेको थियो। चुनाव घोषणा पत्र जारी हुनुअघि नै पार्टीले कहिलै नेपाल बन्द नगर्ने प्रतिबद्धता ब्यक्त गर्ने भन्दै त्यसको ब्यापक प्रचार प्रसार गरिएको थियो।