मोरङमा पनि राप्रपा नेपालले मस्यौदा जलायो

९ ओटा निर्वाचन क्षेत्र रहेको मोरङमा पनि सुझाव संकलनको कार्य भएको छ ।मंगलबार सभागृहमा सुझाव संकलनको काम भइरहँदा राप्रपा नेपालले चर्को विरोध गरेको थियो । कार्यक्रमस्थलमा नै अवरोध पुर्‍याउन खोजेपछि प्रहरीले राप्रपा नेपालको व्यानर नियन्त्रणमा लिएको थियो ।

सोक्रममा आक्रोशित राप्रपा नेपालका कार्यकर्ताहरुले सडकमा मस्यौदा जलाएका थिए । मोरङमासुझाव संकलनका लागि २१ स्थान तय गरिएको छ ।

सुझाव संकलनका क्रममा काठमाडौँमा झडप  

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ मा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा सामान्य झडप भएको छ । संविधानको प्रारम्भिक मस्यौदाले जनताको भावना समेट्न नसक्ने भन्दै सर्वसाधारणले विरोध गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो ।

सर्वसाधारणले मस्यौदा च्यातेर फाल्दै विरोध प्रदर्शन गरेपछि थप सुरक्षा तैनाथ गरी मस्यौदामाथिको छलफल थालिएको थियो । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमालेका नेता रामेश्वर फुयाँललगायतको उपस्थितिमा जनताले सुझाव दिएका थिए ।

जनकपुरमा प्रदर्शन चर्किएपछि सुझाव संकलन कार्य अनिश्चितकालका लागि स्थगित

संविधानको प्रारम्भिक मस्यौदामा राय सङ्कलन गर्ने कार्य धनुषामा स्थगित गरिएको छ । जिल्ला सुरक्षा समिति धनुषा र सभासद्हरुबीच मंगलबार बसेको संयुक्त बैठकले असहज परिस्थितिका कारण सुझाव सङ्कलन गर्ने सम्पूर्ण काम स्थगित गर्ने निर्णय गरेको हो ।

कमल थापा र गणेश थापा झडपमा घाइते

संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन कार्यक्रम बिथोल्न पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद गणेश थापा झडपमा परी घाइते भएका छन् ।
मंगलबार मकवानपुरको हेटौंडामा भइरहेको सुझाव संकलन कार्यक्रम बिथोल्न पुगेका उनीहरु झडपमा परी घाइते भएका हुन् ।