५ साउन, काठमाडौं । स्कटल्यान्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालले निकै खराब फर्ममा रहेका सुवास खकुरेल र विनोद भण्डारीलाई टिमबाट हटाएको छ । चोटका कारण अलराउन्डर सागर पुन पनि नेपाली टिममा हुने छैनन् ।

नेपालले जुलाई २९ र ३१ मा स्कटल्यान्डसँग स्कटल्यान्डमै गएर २ एकदिवसीय खेल खेल्दै छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल हुनेछ । विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गरेको नेपाली टिम अहिले आयरल्यान्डको डब्लिनमा छ ।

प्रशिक्षक पुबुदु दसानायकेले सुवास र विनोदलाई स्कटल्यान्डसँगको खेलमा नराखिएको जनाए । सागर विश्व ट्वान्टी–२० छनोटमा पपुवा न्युगिनीसँगको खेलमा तीन रन लिने क्रममा घाइते भएका थिए । उनलाई देब्रे काँधमा चोट लागेको छ । सागरका अनुसार उनी १ देखि २ साता खेल्न नसक्ने भएका छन् । सागर टिकट मिलेमा आयरल्यान्डबाट मंगलबार वा बुधबार नेपाल फर्किनेछन् ।

विकेटकिपर ब्याट्सम्यानद्वय सुवास र विनोद पनि टिकटको प्रतीक्षामा छन् । विश्व ट्वान्टी–२० छनोटमा मुख्य ब्याट्सम्यानको भूमिका पाएका विनोदले ५ खेलमा १४ रनमात्र बनाउन सकेका थिए । लगातारको कमजोर प्रदर्शनपछि विश्व ट्वान्टी–२० छनोटमा उनलाई हङकङविरुद्धको चौथो खेलमा ‘ड्रप’ गरिएको थियो । जर्सीसँगको अन्तिम खेलमा ओपनरका रूपमा ल्याए पनि उनले त्यसमा ३ रनमात्र बनाउन सकेका थिए ।

युरोप भ्रमणमा नेदरल्यान्ड्ससँगको चार ट्वान्टी–२० शृंखलामा जम्न नसकेपछि सुवासलाई अन्तिम खेलमा पहिलो रोजाइमा राखिएको थिएन् । सुवासले ३ खेलमा २२ रनमात्र बनाउन सकेका थिए । विनोदले पनि त्यहाँ ४ खेलमा २१ रनमात्र बनाउन सके । नेदरल्यान्ड्समा कमजोर प्रदर्शनपछि सुवासले आयरल्यान्डमा पनि पहिलो रोजाइबाट आफ्नो स्थान गुमाएका थिए । हङकङसँगको खेलमा मात्र उनलाई खेलाइएको थियो, जहाँ उनले २ रनमात्र बनाउन सकेका थिए । सागरले ५ खेलमा ५२ रन बनाएका थिए । उनीभन्दा बढी रन नेपालबाट ज्ञानेन्द्र मल्ल (८२) र शरद भेषावकर (६२) ले मात्र बनाएका थिए ।

प्रशिक्षक दसानायकेका अनुसार महेश क्षेत्री, अविनाश कर्ण र पृथु बाँस्कोटालाई स्कटल्यान्डसँगको खेलमा टिममा राखिएको छ । महेश र पृथु इंग्ल्यान्डमै खेलिरहेका छन् । महेशले स्कटल्यान्डसँग विकेटकिपरको भूमिका निभाउनेछन् । अविनाश नेपाली टिमसँग ‘ब्याकअप’ खेलाडीका रूपमा युरोप भ्रमणमा रहेका छन् । उनी अहिले टिमसँगै डब्लिनमा छन् ।

पृथु केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् । उनले आफ्नो पहिलो खेलमै नटआउट १ सय ४६ रन बनाएका थिए । त्यसपछिको अर्को खेलमा ६ रन बनाएका थिए । महेशले ट्रुन क्रिकेट क्लबबाट खेल्दै इंग्ल्यान्डमा पहिलो खेलमा नटआउट ६४ रन बनाएका थिए ।

विश्व ट्वान्टी–२० छनोटमा खेल्न गएको टिममा १५ खेलाडी भएकाले स्कटल्यान्ड जानेमा सिद्धान्त लोहनीको नाम पहिला थिएन । उनको डब्लिनबाट जुलाई २६ मा काठमाडौं फर्किने टिकटसमेत बनाइएको थियो । तर जर्सीसँगको अन्तिम खेलमा २७ रन बनाउँदै आफ्नो ‘डेब्यु’ मा राम्रो प्रभाव पारेपछि उनलाई स्कटल्यान्ड लान लागिएको छ ।