जनकपुरधाम, साउन ४ । संविधानको मस्यौदामाथि सुझाव संकलनको क्रममा जनकपुरधाममा झडप भएको छ । झडपका क्रममा २० जना घाइते भएका छन् ।

मस्यौदामाथि सुझाव संकलन गर्न धनुषा क्षेत्र नम्बर ४ का नागरिका लागि उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रममा भइरहेका बेला मस्यौदाको विरोधमा रहेका मधेसवादी दल र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा घाइते भएका मध्ये मधेस अधिकार संरक्षण समितिका सुशील कर्णको अवस्था गम्भीर रहेकाले उपचारका लाग काठमाडौं पठाउन लागिएको जनकपुरमा अञ्चल अस्पतालले जनाएको छ । अरु घाइतेको भने जनकपुरमा अञ्चल अस्पतालमा नै उपचार भइरहेको छ । झडपका कारण जनकपुरधामको शिव चोक र भानु चोक क्षेत्र तनावग्रस्त बनेको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाहेकका सबै मधेसवादी दल, नेकपा माओवादी र मधेस अधिकार संरक्षण समितिका कार्यकर्ताहरु सुझाव संकलन गर्ने ठाउँमा प्रवेश गर्न खोज्दा झडप भएको हो ।