४ साउन, काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामा आज मुलुकभर सर्वसाधारणले आफ्नो सुझाव दिँदैछन्।२ सय ४० वटै निर्वाचन क्षेत्रमा पायक पर्ने स्थानमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा प्रत्यक्ष सहभागी भएर उनीहरूले सुझाव दिन सक्नेछन्।

सुझाव संकलनका लागि सभासद र कर्मचारीको टोली प्रत्येक क्षेत्रमा पुगिसकेका छन्।सरकारले राष्ट्रिय अभियानकै रूपमा अघि बढाएको सुझाव संकलनलाई भनेर आज र भोलि दुईदिन सार्वजनिक बिदासमेत घोषणा गरेको छ।

अन्तर्क्रिया हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित तथा समानुपातिक सभासदको सहभागितामा सचिवालयबाट र स्थानीय प्रशासन कार्यलयबाट खटिएर गएका कर्मचारीहरुले भेलामा प्राप्त राय सुझाव टिपोट गर्ने छन्।

त्यसैगरी ललितपुरका तीन निर्वाचन क्षेत्रमा दुईदिनमा ७ वटा कार्यक्रम गरी नागरिकहरुको राय सुझाव संकलन गर्न लागेको उक्त जिल्लाको समन्वयकर्ता एवम् संसद सचिवालयकी उपसचिव शान्ता आचार्यले बताइन।

वेबसाइट, इमेल, टोल फ्री नम्बर, फ्याक्समार्फत पनि उत्साहजनक रूपमा सुझाव प्राप्त भइरहेको संविधानसभा सचिवालयले जनाएको छ।

प्रत्येक निर्वाचन क्षेत्रमा सोही क्षेत्रबाट निर्वाचित सभासद पुगिसकेका छन्। सोही क्षेत्रका सभासद पुग्न नसकेको ठाउँमा समानुपातिकतर्फका सभासद पठाइएको छ।