३ साउन, काठमाडौं । विदेश जाने नेपालीहरुको हितलाई ध्यानमा राखेर परराष्ट्र मन्त्रालयले  सार्वजनिक विदामा पनि राहदानी (पासपोर्ट) वितरणको काम नरोक्ने भएको छ । विदाका बेला बनिसकेको पासपोर्ट लिन पाइने भए पनि नयाँ निवेदनका लागि चाँहि बुधबारसम्म पर्खनैपर्ने भएको छ ।

विदेश यात्रा गर्न लागेकाहरुलाई समस्या नपरोस् भनेर सोमबार र मंगलबार दुई दिन पासपोर्ट वितरणको कामलाई जारी राख्न लागिएको हो । आइतबार भने कार्यालय बन्द रहने बताइएको छ ।

‘अचानक परेको दुईदिने विदाका कारण सेवाग्राहीलाई समस्या नपरोस् भनेर यो विशेष व्यवस्था गरेका हौं,’ एमआरपी शाखाका निर्देशक शरदराज आरणले भने । उनका अनुसार सोमबार र मंगलबार विदाका दिन बिहान ८ बजेदेखि ११ बजेसम्म पासपोर्ट वितरण गरिनेछ । परराष्ट्र मन्त्रालयले सोमबार र मंगलबार पासपोर्ट लिन आउनू भनेर यसअघि बोलाएका सेवाग्राहीहरुले तोकिएको समयभित्र कार्यालयबाट पासपोर्ट लिन सक्नेछन् । विदाको दिन पासपोर्टका लागि नयाँ निवेदन भने दर्ता नहुने आरणले जानकारी दिए ।

संविधानको मस्यौदामा सुझाव संकलनका लागि भनेर सरकारले सोमबार र मंगलबार विदा दिएको छ । आइतबार ईदका कारण सार्वजनिक विदा परेको छ ।