३ साउन, काठमाडौं । बढ्दो वायु प्रदुषणलाई नियन्त्रण गर्न सरकारले मुख्य मुख्य शहरमा वायु प्रदुषण मापन केन्द्र स्थापना गर्ने भएको छ । सरकाले आउँदो आर्थिक वर्षसम्म देशका विभिन्न ठाउँमा ११ वटा वायु प्रदुषण मापन केन्द्र स्थापना गर्ने तयारी  गरेको हो ।

वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलका अनुसार ३ वटा विभाग आफैले र अरु ८ वटा सरोकारवाला निकायको आर्थिक सहयोगमा देशका मुख्य मुख्य ठाउँमा प्रदुषण मापन गर्न केन्द्र स्थापना गर्ने तयारी भैहरेको छ ।

प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर देखिनुका साथै विश्व सम्पदा सूचीमा  परेका सम्पदाहरु भत्कन तथा जीर्ण हुन थालेकाले जति सक्दो छिटो केन्द्र स्थापना गरी प्रदुषण कहाँबाट र कसरी भैरहेको छ भन्ने बारे अध्ययन गरिने उहाँले बताउनुभयो ।

यस्तै नेपालका खोलानालाबाट निस्केका प्रदुषणले आफ्ना नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै भारतले नेपाललाई पत्र पठाएको छ । भारतले खोलानालाको प्रदुषण घटाउन पत्र पठाएपछि सीमा क्षेत्रमा भएका ईंट्टा र सिमेन्ट उद्योगले नेपालमा पारेको असरबारे पनि अध्ययन हुने भएको छ ।