१ साउन,बर्दिया/नेपालगन्ज । बुधबार रातिदेखिको भारी वर्षा नथामिँदा देशको पश्चिमी तराई बाढीमा फसेको छ। नदी बस्ती पसेपछि बर्दिया, कैलाली र बाँकेका हजारौं स्थानीय विस्थापित भएका छन्।
भारी वर्षासँगै उर्लिएको बबई नदी बस्ती छिर्दा बर्दियाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। बुधबार रातिदेखि निरन्तर वर्षाले बाढी ल्याएपछि सदरमुकाम गुलरिया र बासगढी नगरपालिकासहित १० गाविस डुबेका हुन्।बस्तीमा भेल पसेपछि स्थानीयबीच भागाभाग मच्चिएको थियो। उनीहरू घर छाडेर सुरक्षित स्थानतिर लागेका छन्। बाढीमा फसेकालाई उद्धार गर्न सेना, प्रहरी र सशस्त्रको टोली डुबान क्षेत्रमा खटिएका छन्। बाढीबाट ५४ जनाको उद्धार गरिएको एसपी गोविन्द राम परियारले जानकारी दिए। ‘बाढी बढ्ने संकेत देखिनासाथ राति नै प्रहरी बस्ती पुगी घर खाली गराएको थियो,’ उनले भने, ‘बाढीमा फसेका र जोखिमका स्थानीयलाई सुरक्षित स्थानमा सारिसकेका छौं।’

सन्तोषी टोल, पण्डितपुर, बालापुर र भैसाको हाटबाट पसेको बाढीले गुलरिया नगरपालिका जलमग्न छ। बाढीले कटान जारी राखेकाले बबईछेउका अन्य गाविस पनि जोखिममा छन्। बिहीबार बबईको जलस्तर ५ मिटर मापन गरिएको छ।

बाढीमा जिल्लाका एक हजार घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ। गुलरिया नगरपालिका उच्च जोखिममा रहेको प्रजिअ विनोद कुँवरले बताए। ‘प्रभावितको उद्धार तथा सुरक्षाका लागि नेपाली सेना, प्रहरी र सशस्त्रको टोली परिचालन गरिसकेका छौं,’ उनले भने।

चुरेक्षेत्रमा अत्यधिक वर्षा हुँदा नदीको जलस्तर बढेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कृष्ण गौतमले बताए। ‘गत साउनकै बाढीले नदीको पेट बढाएकाले यसपालि गुलरिया नगरपालिका केही ठाउँमा सजिलै भेल पस्योे,’ उनले भने, ‘वर्षा नथामिए गुलरियामा ठूलो क्षति हुन सक्छ।’

बस्तीमा पानी पसेपछि स्थानीय रातभर जाग्राम बसे। नदीछेउका बासिन्दा उच्च स्थानतिर लागेका छन्। स्थानीय अन्जु लोध भने खेतमा ब्याड हेर्न गएको छोरो नफर्केपछि पर्खेर बसिरहेकी थिइन्। ‘बाढीले सबैतिर डुबाएकाले छोरो ब्याड हेर्न गएको थियो तर फर्केन, पर्खेर बसेकी छु,’ उनले भनिन्।

गत साउनको बाढीमा ठूलो क्षति बेहोरेका गाउँले यसपालि पहिल्यैदेखि सतर्क रहेकाले बुधबार रातिको बाढीमा मानवीय क्षति भने हुन पाएन। ‘बाढीको संकेत देखिनासाथ विभिन्न माध्यमबाट खबर आइहाल्यो,’ भादापुरुवाका खेम रानाले भने, ‘त्यसैले सबै जना पानीको सतह बढ्नुभन्दा पहिल्यै सुरक्षित स्थानमा गइहाल्यौं।’

नदीमा जलस्तर बढेकाले भारतीय पक्षले गोपिया बाँध थुनिदिने त्रास स्थानीयमा छ। ‘उनीहरूले उता बाँध थुनिदिए नेपाली बस्तीमा डुबान र कटान अझ बढ्छ,’ थपुवाका रामबहादुर चौधरी भन्छन्। गोपिया बाँध गुलरियादेखि ८ किलोमिटर दक्षिणमा छ।

नेउलापुरको भुरिगाउँ बजार, रानीपुर, धधवार, बनियाभार र बासगढी नगरपालिकाका अधिकांश वडा जलमग्न भएका छन्। सर्वसाधारण सडकछेउ र उच्च स्थानमा बसेका छन्। निरन्तर वर्षा भइरहे पनि पानी निकास नहुँदा जनजीवन प्रभावित भएको स्थानीय कांग्रेस नेता विद्या खनालले बताए। ‘रातिदेखि पानी रोकिएको छैन,’ उनले भने, ‘नदीको सतह पनि बढिरहेको छ, सर्वसाधारण जोखिममा छन्।’ गत वर्ष बबईमा आएको बाढीमा ३४ जनाको मृत्यु हुनुका साथै १ लाख १४ हजारको बास उठेको थियो।
नेपालगन्ज जलाम्य
भारी वर्षाका कारण नेपालगन्जका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बुधबार राति करिब १० बजेदेखि बिहीबार बिहान अबेरसम्म परेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको सेतु विक चोक, घरबारी टोल, शीतलनगर, बुलबुलिया, शान्तिनगर, बेलासपुर क्षेत्र डुबानमा परेका हुन्। यी क्षेत्रका अधिकांश घरमा पानी पस्दा सर्वसाधारणको बिचल्ली भएको छ।

घरबारी टोलका स्थानीय अंगिमा शेर्पाले ढल थुनिँदा पानी सडकमा जम्मा भई घरभित्र पसेको बताए। ‘राति तीन बजेतिर घरभित्र पानी पस्यो। अनिदोमै रात काट्यौं,’ उनले भने। पानी निकास नखुल्दा सडकमा हिँड्न नमिल्ने भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद भुसालले बुधबार रातभर परेको वर्षाले करिब आधा दर्जन टोल डुबानमा परेको बताए। ‘पानीको मात्रा बढी भएकाले सडक तथा टोल जलाम्य भएका हुन्। पानी बग्न नसकेपछि ट्राफिक चोक क्षेत्रमा जेसिबी प्रयोग गरी निकास खोल्यौं,’ भुसालले भने। जल तथा मौसम कार्यालय राँझाका अनुसार २४ घन्टामा नेपालगन्ज क्षेत्रमा २ सय ४३ दशमलव ७ मिलिमिटर वर्षा भएको छ।