१ साउन, काठमाडौ । विश्वकप ट्वेन्टी–२० क्रिकेट छनोट प्रतियोगितामा नेपालले आज (शुक्रबार) पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । पपुवा न्युगिनीविरुद्धको यो खेल नेपालका लागि जित्नैपर्ने हुन्छ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे आयरल्यान्डको डब्लिनमा सुरु हुनेछ ।

प्रतियोगिताअन्तर्गतको आफ्नो चौथो खेलमा हङकङसँग ५ विकेटलेपराजित भएसँगै नेपालको विश्वकप पवबेशको सम्भावना निकै कठीन बनेको छ । समूहमा शीर्ष ४ स्थान ओगट्ने राष्ट्र छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

अब नेपालले शीर्ष चारभित्र स्थान सुरक्षित गर्न बाँकी दुई खेल जित्नैपर्छ भने समूहका अन्य टोलीको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

नेपालले पपुवा न्युगिनीसँग खेल्दा यही समूहको अर्को खेलमा आयरल्यान्ड र हङकङ भिड्ने छन् । समूहमा ४ खेलबाट ६ अंक जोडेको आयरल्यान्ड शीर्ष स्थानमा रहेको छ भने ३ खेलबाट ५ अकं जोडेको पपुवा न्युगिनी दोस्रो स्थानमा छ ।

यसैगरी, ३ खेलबाट ३–३ अंक जोडेका हङकङ र नामिबिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । ४ खेलबाट ३ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ भने २–२ अंक जोडेका जर्सी र अमेरिका पुछारका दुई स्थानमा छन् । नेपाल र पपुवा न्यूगिनीबीचको खेल स्पोर्टस् च्यानल ‘स्टार स्पोर्टस् फोर’ले प्रत्यक्ष प्रशारण गर्ने छ ।