काठमाडौं असार ३१ । हलिउड अभिनेता लियोनार्डो आफ्नो दमदार अभिनयका लागि जत्ति चर्चित छन् त्यति नै आफ्नो दानका लागि पनि चर्चित छन्। टाइटनिक अभिनेताले एक संस्था मार्फत वातावरण संरक्षणका लागि करिब १ अर्ब ५० करोड नेपाली रूपयाँ दान दिएका हुन्। यूएस म्यागजिनले जनाएअनुसार ४० वर्षिय लियोनार्डोले एक प्रेस विज्ञप्ति जारी गर्दै पृथ्वीको निरन्तर विनाश भइरहेको अवस्थामा यसलाई नजरअन्दाज गर्न नसकिने बताएका छन्।

लियोनार्दोले आफ्नो नाममा सन् १९९८मा एक फाउन्डेसन स्थापना गरेर आफूलाई यस किसिमको कार्यमा सहभागी गराउँदै आएका छन्। उनले नेपालको बाघ संरक्षण अभियानका लागि पनि सहयोग गरिरहेका छन्। उनले आफूलाई वातावरण संरक्षण सम्बन्धी अभियानमा सक्रिय गराउने गरेका छन्।