३१ असार, हेटौँडा।  गएराति परेको वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा–कुलेखानी सडक अवरुद्ध बनेको छ । उक्त सडक अवरुद्ध बनेपछि हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने यातायातका साधनहरु आज बिहानैदेखि त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज मौसम अनुकूल भएमा दिउँसोबाट उक्त पहिरो हटाई काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँ यातयात सेवा सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो । हेटौँडा कुलेखानी सडकअन्तर्गत दैनिक ७५० वटा सुमोजिप यातायात सञ्चालन हुँदै आएका छन् ।