परासी असार ३० । स्वामी कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यलाई चितवनस्थित राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मंगलवार राती पक्राउ गरेको विरोधमा उनका समर्थकले बुधवार नवलपरासीे सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शन गर्न कमलनयनाचार्यका समर्थकहरु बुटवल र भैरहवाबाटसमेत आएका  थिए ।

भरतपुरबाट फर्कँदै गरेका आचार्यलाई बेलाटारीस्थित प्रतापपुरको पुलबाट पक्राउ गरेर लगेको त्रिवेणीका स्थानीय एवम् सामुदायिक वन उपभोक्ता समिति–२ का सदस्य गोविन्द्रप्रसाद देवकोटाले जानकारी दिए ।

आचार्यलाई राष्ट्रिय निकुञ्जबाट सरकारी गाडी लिएर नेपाली सेनाको पोशाकमा आएका ६ जनाले पक्राउ गरेको देवकोटाले बताए ।

‘तपाईसँग केही सोध्नु छ भन्दै सुरक्षाकर्मीहरुले आचार्य चढेको मोटसाइकलसमेत गाडीमा राखेर लगेको उनले बताए । विरोध प्रर्दशन गर्दै सदरमुकाममा आएका स्थानीय र उनका समर्थकले अपहरणको शैलीमा सुरक्षाकर्मीले आचार्यलाई पक्राउ गरेको भन्दै नाराबाजी गरेका थिए ।

आचार्यको रिहाइको माग गर्दै उनीहरुले प्रशानस कार्यालयसमेत घेराउ गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

सामुदायिक वन सम्बन्धि सोधपुछ गर्न भन्दै आचार्यलाई राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले पक्राउ गरेर लगेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

प्रजिअ मैनालीले पक्राउ परेका आचार्यलाई चितवनस्थित राष्ट्रिय निकुञ्जको मूख्यालय कसरामा राखिएको भन्ने जानकारी निकुञ्जले आफुलाई बुधवार बिहान मात्र गराएको
बताए ।

रिहाइको माग गर्दै प्रदर्शनका उत्रेका उनका समर्थकहरुले त्रिवेणीस्थित  त्रिवेणी सामुदायिक वन, त्रिवेणी उपभोक्ता समिति र राष्ट्रिय निकुञ्जको त्रिवेणी पोष्टमासमेत तालाबन्दी गरिदिएका छन् ।

स्वामी कमलनयनाचार्यले वन मास्न नभइ खेर गएको वनलाई व्यवस्थित बनाइरहेको उनका समर्थक एवम् भैरहवाबाट आएका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण शर्माले बताए ।

नेपालका विभिन्न स्थानमा रहेका मठ मन्दिर र अन्य धार्मिक क्षेत्रहरु वन भित्र रहेको भन्दै धर्मको नाउँमा हस्तक्षेप नगर्न शर्माले आग्रह गरे ।

उनले धार्मिक अनुष्ठानमा रहेका आचार्यलाई दैनिक जप र नित्य कर्म गर्न नदिएकोसमेत उनले आरोप लगाए । आचार्यलाई रिहा नगरे राजमार्ग बन्ददेखि देशै ठप्प पार्ने समर्थकहरुले चेतावनी दिएका छन् ।

स्वामी कमलनयनाचार्यलाई देशका विभिन्न स्थानमा धार्मिक वन मासेर संरचना बनाएको आरोप छ । निकुञ्जको करिब १३ विगाहा क्षेत्रफल कमलनयनाचार्यले ओगटेको र त्यसमध्ये करिब ६ विगाहा क्षेत्रफल धार्मिक संरचनाहरु बनाएका छन् ।

धार्मिक वनभित्र पर्ने त्रिवेणी सामुदायिक वन भित्र उनले गजेन्द्र मोक्षधामको मन्दिर, साधना गृह, भोजनालय गृह, अतिथि गृह, संस्कृत विद्यालय सञ्चालनका लागि वेद व्यास आश्रमलगायतका ठूलठूला भौतिक संरचना निर्माण गरेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसको १२ औं महाधिवेशनसमेत गरिएको थियो । मुक्तिनाथ पिठाधिश्वरसमेत रहेका कमलनयनाचार्यले निर्माण गरेको उक्त स्थान धार्मिक क्षेत्रकारुपमा विस्तार भइरहेको छ ।