पर्सा, असार ३०। पर्सामा अझै पनि २१ हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले मङ्गलबार यहाँ आयोजना गरेको अनौपचारिक शिक्षा कार्यक्रमको समीक्षा कार्यक्रममार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पर्सामा हाल अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र जिल्लाका सबै बालबालिकालाई विद्यालय ल्याउनका लागि आफूहरुले अभियान सञ्चालन गरिरहेको जानकारी सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादवले दिनुभयो । सन् २०१५ को अन्ततिर सबै बालबालिकालाई विद्यालय पठाइने लक्ष्य आफूहरुले लिएको उहाँले बताउनुभयो ।

पर्साका स्थानीय विकास अधिकारी गुरु सुवेदी, सहायक शिक्षा अधिकारी धनप्रसाद पोखरेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतोले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म जसरी भए पनि ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । रासस