३० असार, काठमाडौ । देश सङ्घीय स्वरुपमा गएपछि काठमाडौं उपत्यकालाई ‘राष्ट्रिय राजधानी शहर’ का रुपमा विकास गरिने भएको छ ।

आगामी आवको बजेटमा काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि तयार पारिएको गुरुयोजनामा काठमाडौँ उपत्यकाको विकासलाई प्याकेजका रुपमा अगाडि बढाइने उल्लेख छ ।

उपत्यकामा पर्याप्त खुला स्थानको व्यवस्था गर्न प्रति २५ हजार जनसङ्ख्याका लागि एक खुला स्थानको व्यवस्था गरिने र यसका लागि व्यक्तिगत जग्गा समेत खरिद गरिने बजेटमा उल्लेख छ ।

वागतमी नदीको सुन्दरीजलदेखि–सुन्दरीघाटसम्मको ढल निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिने र वाग्मती सफाइ अभियानलाई संस्थागत गर्दै काठमाडौँ उपत्यकाको सभ्यताका रुपमा रहेका विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्ते र नख्खु खोलालगायत नदी ढल तथा फोहोरमुक्त बनाइने उल्लेख छ ।

त्यस्तै नगरपालिकाहरुसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा आधारभूत उपयोग स्तरका ४०० सार्वजनिक शौचालय निर्माण सुरु गरिने र सार्वजनिक शौचालय निर्माण गर्न निजी क्षेत्रलाई समेत सहभागि गराइने छ ।