नयाँ दिल्ली।  भारतको जनसंख्या सवा १ अर्बभन्दा बढी पुगेको छ । यस मुलुकको जनसंख्या वृद्धिदर १.६ प्रतिशत देखिएको छ । यो वृद्धिदरसहित जनसंख्या आगामी सन् २०५० सम्ममा विश्वकै बढी हुने अनुमान गरिएको छ ।
शनिबार बेलुकी ५ बजेसम्मको अवधिमा जनसंख्या १ अर्ब २७ करोड ४२ लाख ३९ हजार ७६९ पुगेको हो । भारतको जनसंख्या विश्वको कुलको १७.२५ प्रतिशत छ । यसले अधिक जनसंख्याबाट हुने प्रभावबारे चिन्ता बढाएको छ ।

india
भारतको जनसंख्या चीनको तुलनामा तीव्र दरमा वृद्धि भइरहेको छ । १.३९ अर्बसहित चीन विश्वकै सर्वाधिक जनसंख्या भएको मुलुक हो ।
“वर्तमान वृद्धिदरले निरन्तरता पाए आगामी २०५० सम्ममा भारतको जनसंख्या १.६३ अर्ब पुग्ने र यसले चीनलाई पनि उछिन्नेछ,” एक अधिकारीले भने । जनसंख्या वृद्धिदर रोक्ने उद्देश्यका लागि विकास साझेदार र गैरसरकारी संस्थाले सरकारलाई सहयोग गर्नु आवश्यक भएको स्वास्थ्यमन्त्री जेपी नाडाले बताए ।
एनपीएसएफले उपलब्ध गराएको तथ्यांकअनुसार कुल प्रजनन दर (टीएफआर) घटेको छ । यो दर सन् २०१३ मा २.३ प्रतिशत थियो । टीएफआरमा विवाहको उमेरले पनि  प्रभाव पार्दै आएको छ । बढी उमेरमा विवाह गर्ने मुलुकमा भने प्रजनन दर घटेको छ ।
राजस्थान, झारखण्ड र बिहारमा २१ देखि २६ प्रतिशत महिलाले १८ भन्दा कम उमेरमा विवाह गर्ने गरेका छन् ।
सन् २०११ को जनगणनामा भारतको जनसंख्या १.२१ अर्ब थियो । यो संख्या अमेरिका, इन्डोनेसिया, ब्राजिल, पाकिस्तान, बंगलादेश र जापानको संयुक्त बराबर हो ।