२८ असार, काठमाडौं । अहिलेपनि ४० लाख नेपालीहरु पेटभरी खान नपाउने अवस्थामा छन् । सरकारले सार्वजानिक गरेको अार्थिक सर्वेक्षण अनुसार कूल जनसंख्याको १५.७ प्रतिशतले न्यूनतम आहारभन्दा कम मात्रै खान पाउँछन् । हाल देशको कूल जनसंख्या २ करोड ८२ लाख छ ।

गरिबीको रेखामूनी ६७ लाख नेपाली

सरकारले सार्वजानिक गरेको चालू अार्थिक वर्षको आर्थिक सर्वेक्षणमा कूल जनसंख्याको २३.८ प्रतिशत अर्थात ६७ लाख नेपाली गरिबीको रेखामूनी छन् । गत वर्ष पनि गरिबीको संख्या २३.८ प्रतिशत नै थियो । जुन अघिल्लो वर्षको भन्दा १.६ प्रतिशतले कम हो ।

गरिब जनसंख्या २०५२/५३ देखि २०६९/७० को १७ वर्षे अवधीमा ४२ बाट झरेर २३.८ प्रतिशतमा आएपनि शहरी र ग्रामिण तथा विभिन्न भौगोलिक क्षेत्र र समूहहरुबीचको भिन्नता भने निकै ठूलो बन्दै गएको छ ।

भूकम्पले थप्यो ३ लाख गरिब

गरिबीको रेखामूननी रहेको जनसंख्या घटाउने लक्ष्य नजिकै पुगेको सरकारलाई बैशाखको बिनासकारी भूकम्पले चुनौति थपेको छ । भूकम्पका कारण ३ लाख नेपाली गरिबीको रेखामूनी पुगेको सरकारी अधिकारीहरुको दाबी छ ।