काठमाडौं, असार २८ ।नेपालले विश्व ट्वान्टी–२० छनोटमै सबैभन्दा ठूलो चुनौती सामना गर्दा दाबेदार आयरल्यान्ड सोमबार प्रतिद्वन्द्वीका रूपमा अगाडि हुनेछ। प्रारम्भिक चरणमै भए पनि समूह शीर्षताको महत्त्व बोकेको उक्त खेललाई वर्षाको पनि उत्तिकै खतरा छ। उत्तरी आयरल्यान्डमा अझै केही दिन मौसमको प्रभाव रहने अनुमान गरिएको छ।

आयोजक टिममाथि विजय हात पारे नेपाल फेरि समूह ‘ए’ को अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ। आयरल्यान्ड पहिलो २ खेलमा नामिबियालाई ७ विकेटले र आइतबार अमेरिकालाई ४६ रनले पराजित गरी शीर्षस्थानमा छ। नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। तर नामिबियासँग शनिबारको खेल वर्षाका कारण रद्द भएको थियो।

स्टोरमोन्टमा सोमबार पनि वर्षा हुने अनुमान गरिएको छ। प्रतियोगिताका खेलहरू वर्षाबाट प्रभावित रहँदै आएका छन्। नेपाल र ओमानको अभ्यास खेल वर्षाकै कारण रद्द भएको थियो। नेपाल र नामिबियाबीचको खेल ८ ओभर पनि पूरा हुन पाएको थिएन। नेपाल र आयरल्यान्डबीच सोमबार हुने खेल पनि वर्षाका कारण शंकाको घेरामा छ।

मौसम पूर्वानुमान गलत भएमा समूह ‘ए’ को सबैभन्दा ठूलो खेलमा नेपाल र आयरल्यान्डको प्रतिस्पर्धाले रोमाञ्चकता पाउनेछ। निश्चय पनि नेपालको यो सबैभन्दा ठूलो खेल हुनेछ। युरोप भ्रमणमा निस्किन अगाडि नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायके र कप्तान पारस खड्काले ट्वान्टी–२० विश्वकपमा छनोट हुने मात्र नभई नेपाली टिम छनोट प्रतियोगिता जित्ने लक्ष्यमा रहेको बताएका थिए।

‘आयरल्यान्ड यस समूहमा कठिन प्रतिद्वन्द्वी हो, तर हाम्रो लक्ष्य नम्बर एक टिम बन्नु हो,’ प्रशिक्षक दसानायकेले भने, ‘यस्तो अवस्थामा हामी कहाँ उभिएका छौं भन्ने थाहा पाउन यो राम्रो परीक्षा हो।’ यसअघिका चार विश्व ट्वान्टी–२० खेलिसकेको आयरल्यान्ड प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ। त्यही नेपाल लगातार दोस्रो पटक विश्व ट्वान्टी–२० मा छनोट हुने दाउमा छ।