काठमाडौं असार २७ । सेयर बजारमा साताको पहिलो दिन लघुवित्त तथा माइक्रोफाइनान्सका लगानीकर्ताहरुले बढी नाफा कमाएका छन्। फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकका सेयर लगानीकर्ताले १० प्रतिशत सेयर नाफा कमाएका छन्। त्यस्तै लक्ष्मी लघुवित्त र समिट माइक्रोफाइनान्सका सेयर लगानीकर्ताले पनि उच्च सेयर मूल्य कमाएका छन्।
सेयर बजारको अंक भने १ दशमलव ५ ले उकालो लागेको छ। कारोवारको अन्तिम समयमा आउँदा विकास बैंक र हाइड्रो कम्पनीका सेयरको माग बढ्न थालेपछि समग्र नेप्सेमा सकारात्मक प्रभाव परेको हो। ति उपसमूह क्रमशः १० र १४ अंकले बढेका छन्। त्यस्तै उत्पादन उपसमूह पनि १५ अंकले बढेको छ। बैंक, व्यापार र होटल उपमसमूह भने यस दिन रातो अंकमा रहे।
सेयर रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। उसको ४ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै एभरेष्ट बैंक, छिमेक लघुवित्त विकास बैंक र चिलिमे हाइड्रोको पनि १ करोडभन्दा बढी रकमको सेयर कारोवार भयो।
श्री इन्भेष्टमेन्ट फाइनान्स तथा ज्योति विकास बैंकका सेयर लगानीकर्ताले प्रतिशतका आधारमा धेरै मूल्य चुकाएका छन्।